kumari
stcnepal

एमालेले तोक्यो काठमाडौं उपत्यका चुनावी कमाण्डर

काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको शनिबारको बैठकले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक समेत तोकेको छ ।

काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नेछन् । बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा सङ्गठित छन् । प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरु, हजारौँको सङ्ख्यामा मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटी अन्तर्गत सङ्गठित छन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियता पूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न सबैलाई निर्देशन दिइन् । कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका कमिटीका सहइन्चार्ज वीना श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्न सबै पार्टी सदस्यहरु आ–आफ्नो क्षेत्रमा सङ्गठित र समन्वय गरी खट्नुपर्ने धारणा राखिन् ।

 

 

footer