kumari
stcnepal

आयातमा कडाइ गर्ने वस्तु्को सूचीलाई अन्तिम रुप दिएयो

काठमाडौं । आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अनौपचारिक कार्यदलले आयातमा कडाइ गर्ने वस्तु्को सूचीलाई अन्तिम रुप दिएको छ । आइतबार मन्त्रालयमा भएको आनौपचारिक कार्यदलको चौथो बैठकले नेपालले धेरै मात्रामा आयात गरिरहेको तर आयात नगरे पनि वा कम आयात भए पनि फरक नपर्ने वस्तुहरुको सूची तयार गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व र भन्सार विभागका अधिकारी सम्मिलित बैठकले यस्ता वस्तुको सूचीलाई अन्तिम रुप दिएको छलफलमा सहभागी एक अधिकारीले बताए । पाम, भटमास र सूर्यमुखी तेल, गाडी, मोबाइल, सुन, कस्मेटिक आइटम लगायतका वस्तुहरु यस्तो सूचीमा समावेश छ । साथै हाल एलसीमा गरिएको कडाइलाई निरन्तरता दिंदै थप प्रतिबन्धात्मक नियम लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘आयातमा कडाइ गर्ने वस्तुको सूचीमा पाम तेल देखि भटमास र सूर्यमुखी तेल पनि छन्,’ ती अधिकारीले भने, ‘उच्च आयातका कारण भुक्तानी सन्तुलन र बैंकिङ तरलतामा चाप परेको तर नेपालले कम तथा आयात नै नगरे पनि हुने वस्तुको सूची त्यसमा छन् ।’ कार्यदलले बनाएको सूची आइतबार नै प्रधानमन्त्री समक्ष पेश हुनेछ । सो सूचीमा अन्तिम निर्णय भने प्रधानमन्त्रीले गर्नेछन् । केही वस्तुको आयात प्रतिबन्ध गर्ने विषय छलफलमा उठे पनि निर्णय भने भएन । सवारी साधनको हकमा भन्सार महसुल वृद्धि देखि खरिदमा डाउन पेमेन्टको सीमा वृद्धि सम्मका अतिरिक्त कडाइका प्रस्ताव पनि छन् । यस्तै केही वस्तुको हकमा आयात नरोक्ने तर निरुत्साहनका अन्य टुल्स प्रयोग गर्ने विधि पनि कार्यदलले सुझाएको छ । जसमा प्राविधिक निगरानी र गुणस्तरको वैज्ञानिक प्रमाण थप गर्ने, काउन्टर भेलिङ तथा एन्टी डम्पि लगायतका कसिलो नियमहरु लागू गरिनेछ ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा कामु गर्भनर निलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र विदेशी विनिमय विभाग प्रमुख डा. रामु पौडेलको टोली सहभागी थियो । यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, अर्थ र वाणिज्य सचिव, आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक पनि बैठकमा सहभागी थिए । आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अनौपचारिक कार्यदलको यसअघि पहिलो बैठक १६ चैतमा बसेको थियो । यस्तै, २२ चैतमा दोस्रो र २ वैशाखमा तेस्रो बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।

 

 

 

footer