kumari
stcnepal

बीरगञ्ज महानगरमा एमाले र लोसपाका बीचमा तालमेल हुन सक्ने सम्भावना

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दल बीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरु सहितको छलफल बाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर शीर्ष नेताहरू काठमाडौंमा भएकाले ठोस रुप दिन सकिएको छैन’, ती नेताले भने । एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे छलफल अगाडि बढेको बताउँछन् । ‘चाँडै टुंग्याउने प्रयास भइरहेको छ । अनौपचारिक छलफल त भइरहेकै छ’, उनी भन्छन् । एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

महानगर कमिटी बाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन । ‘सम्भावित तालमेलकै लागि नै ठाउँ राखिएको हो’, नेता सिंह भन्छन् । जसपा (तत्कालीन संघीय समाजवादी फोरम) का उम्मेदवार बनेर ०७४ को चुनाव बाट १९ हजार ३९३ मत ल्याउँदै सरावगीले मेयर जितेका थिए । गएको २८ फागुनमा पार्टी प्रवेश गरेका सरावगीलाई नै एमालेले अगाडि बढाएको छ ।नेताहरुका अनुसार, लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।

 

 

 

footer