kumari
stcnepal

राप्रपाले सार्वजनिक गर्यो ४ पन्ने चुनावी घोषणा पत्र, स्थानिय करमा कटौति गर्ने

काठमाण्डौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुद लगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।

जसअनुसार हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशत सम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो। यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ । महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्ष सम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ । सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।

घोषणापत्रमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि मुलुकमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, बृहत् राष्ट्रिय एकता र आर्थिक उदारीकरण राष्ट्रिय पार्टीको आधारस्तम्भ भएको उल्लेख गरिएको छ । मुलुकको गौरवपूर्ण इतिहास, धर्म संस्कृति, परम्पराको जगेर्ना गर्दै सवल, समृद्ध र नवीन नेपाल निर्माण गर्न राप्रपा राष्ट्रिय राजनीतिको विकल्पसहित खडा भएको पनि उल्लेख गरिएको छ । परम्परागत रुपमा चली आएका मुल्य मान्यतालाई निरन्तरता दिँदै सो मान्यतामा समयानुकूल सुधार गर्दै जाने विषयमा पार्टी प्रतिबद्ध रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा पार्टीले शिक्षा, स्वास्थ, कृषि, भौतिक पूर्वाधार बिकास निर्माण लगायत स्थानीय साधनस्रोत परिचालन र रोजगारी सृजना लगायतका विषयलाई उच्च प्राथमिकता दिँदै भ्रष्टाचारमा शुन्य सहनशीलताको निति अवलम्बन गर्ने पनि स्पष्ट गरिएको छ । युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक, उत्पीडित, अल्पसंख्यक, किसान, मजदुर, उद्यमी लगायत सबै वर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजीविकाको संरक्षण गर्ने सहज वातावरण सृजना गर्न पार्टीलाई भोट दिन राप्रपाले आग्रह गरेको छ ।

 

 

 

footer