kumari
stcnepal

नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय, जसपाका स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी

नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरे सँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरे सँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् । बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्र बाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताए ।

‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फ बाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’ उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बताए । ‘सबैलाई बैठकमा बोलाएका छौँ । बिहान ७ बजे देखि बैठक बसेर १० बजे सम्म निर्णय गरिसक्छौँ,’ उनले भने, ‘त्यसपछि पत्रकार सम्मेलन गर्छौँ ।’

उनले आफू स्थानीयस्तरमा पार्टी निर्माणका लागि मेहनेत गरेको भन्दै केन्द्र बाट पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने बताए । ‘पार्टीमा किन रहेन ? कार्यकर्ताले गोजी बाट पैसा लगाएर पार्टी चलाउने, कार्यालयको भाडा तिर्ने । माथि बाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्दिने ?,’ उनले भने, ‘यो गुलामी गर्नका लागि कार्यकर्ता होइनौँ ।’ राई लगायत बाँकेका स्थानीय नेताहरूले केन्द्रमा गठबन्धन दल बीच चुनावी तालमेल गर्ने सहमति भएकै बेला नेपालगञ्जमा जसपाले छुट्टै चुनाव लड्ने भन्दै गठबन्धनलाई लिखित पत्र लेखेको थियो । नेपालगञ्ज उपमहानगर सहित बाँकेका पालिकामा छुट्टै निर्वाचन लड्ने तयारी थालेका जसपाका नेताहरूले केन्द्रमा गरेको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका हुन् ।

जसपा बाट बाँकेका प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक राईले स्थानीयस्तरमा नेता कार्यकर्ताले गरेको जुनसुकै निर्णयमा आफ्नो सहमति हुने बताएका छन् । उनले आफू जसपा दुई नम्बर प्रदेशको जस्तो मात्रै देखिएको भन्दै यही पार्टीमा रहेर दुई नम्बर बाहेकका प्रदेश बाट राजनीति गर्न नसकिने जस्तो अवस्थामा पुगेको बताए । ‘स्थानीयस्तरमा साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ । म यहीँ ठाउँमा यीनै साथीहरूको बलमा प्रतिनिधि भएर राजनीति गर्ने तर, उनीहरूको भावना विपरीत एक्लै हिँड्ने भन्ने हुँदैन,’ उनले भने, ‘ स्थानीय साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ ।’

 

 

 

footer