kumari
stcnepal

चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दल लगायत सम्बन्धित सबैलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दल लगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ । बुधबार विज्ञप्ति निकालेर आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिह्न अङ्कित सामग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले अनुरोध गरेको छ । निर्वाचन आचार संहिताले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता सबै सरकारी, गैर सरकारी, निजी संस्था र यी संस्था सँग आवद्ध पदाधिकारी तथा कर्मचारीलाई पनि लाग्ने आयोगले बताएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता सबैलाई चुनाव चिह्न अंकित सामग्री उपयोग र खरिद नगर्न समेत आग्रह गरिएको छ ।

निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाख सम्म जरिवाना हुने स्मरण गराएको छ । ‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले गत चैत २५ गते देखि लागु हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याइसकेको छ । पालना नभएको सूचना आएको भन्दै आयोगले बुधबार विज्ञप्ति निकालेर राजनीतिक दलहरु र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको हो ।

 

 

footer