kumari
stcnepal

सिफारिस समितिमा पुग्यो राणा बिरूद्धको महाअभियोगको प्रस्ताव, कार्तिक २९ गते भित्र निर्णय गरिसक्नु पर्ने

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो । महाभियोग सिफारिस समितिमा पठाइए सँगै यसको दिनगन्ती शुरू भएको छ । महाभियोग सिफारिस समितिमा पठाइएको तीन महिना भित्र यसको टुंगो लाग्नु पर्नेछ ।

पदीय आचरण अनुसारको काम नगरेको, न्यायालयमा भ्रष्टाचार र विकृति भित्र्याएको आरोप सहित सत्ता गठबन्धनले चोलेन्द्र विरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेका थिए । सोही महिनाको २९ गते प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिमा नेकपा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन् । यस्तै कांग्रेसको तर्फ बाट मीन विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रको तर्फ बाट यसोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य छन् । नेकपा एस बाट कल्याणी खड्का, जसपा बाट प्रमोद साह र लोसपा बाट एकवाल मिया सदस्य छन् ।

महाभियोग सिफारिस समितिमा पठाइनु अघि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा सत्तापक्षका सांसदहरूले महाभियोगको बचाउ गरेका थिए । एमालेले भने चोलेन्द्र विरुद्ध प्रतिशोध साँध्नका लागि महाभियोग दर्ता गरेर लामो समय अलपत्र पारिएको आरोप लगाएका थिए ।चोलेन्द्र विरुद्धको महाभियोग सिफारिस समितिमा पठाए सँगै प्रतिनिधि सभा बैठक मंगलवार सम्मको लागि स्थगित भएको छ ।

footer