kumari
stcnepal

भ्रष्टाचारको आरोप लगाउने र लगाइने फेरी एकै ठाउँमा

 

आउँदो मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन हुने निश्चित भएपछि प्रायः सबै राजनीतिक दलहरुले आ आफ्नो दललाई चलायमान बनाउन थालेका छन् । त्यसै क्रममा माओवादी केन्द्रले आफ्नो पार्टी पदाधिकारीलाई पूर्णता दिएको छ ।
पार्टीका पदाधिकारीहरुमा पूर्णता दिएपनि पार्टीका केही नेताहरुले असन्तुष्टि जनाउँदै अध्यक्ष दाहालप्रति आक्रोश व्यक्त गरेका भएपनि उनीहरु अध्यक्षका अगाडि निरिह सावित भएका छन् । २१ सदस्यीय पदाधिकारी चयन गरिएपनि पदाधिकारिमा एक जना महिलामात्र राखिएको छ भने दलित, मुस्लिम र जनजातिलाई मात्र उपेक्षा गरिएको छैन सुदुरपश्चिम क्षेत्रबाट कसैलाई पदाधिकारीमा समावेश गरिएको छैन ।
पछिल्लो समयमा पार्टी अध्यक्ष दाहाल जसरी भएपनि आउँदो निर्वाचन पछि आफैँ प्रधानमन्त्री बन्ने रणनीतिक उदेश्यका साथ अघि बढेका छन् । त्यसैको परिणाम स्वरुप दाहालले माओवादी केन्द्र त्यागेर नयाँ शक्ति नामक पार्टी निर्माण गरेका डा. बाबुराम भट्टराईको असफलतालाई हेरेर आफ्नै पार्टीको निर्वाचन चिन्ह्र हँसिया हथौडाबाट चुनाव लड्न सहमत गराएका छन् । डा. भट्टराई नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पार्टीमा पुगेका र त्यहाँपनि टिक्न नसकेर नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।
भट्टराईको पार्टीले आकार लिन नसक्ने स्वीकार गर्दै भट्टराई अप्रत्यक्ष रुपमा माओवादी केन्द्रमा नै फर्किएका छन् । निर्वाचनपछि डा. भट्टराई औपचारिक रुपमा माओवादीमा प्रवेश गर्ने निश्चित जस्तै रहेको छ । त्यसैगरी अध्यक्ष दाहालले नेकपा एमालेबाट अलग भएका राष्ट्रिय सभाका सदस्य समेत रहेका नयाँ पार्टी निर्माण गरेका वामदेव गौतमलाई समेत अप्रत्यक्ष रुपमा माओवादी केन्द्रमा प्रवेश गराएर माओवादी केन्द्रको निर्वाचन चिन्ह्रबाटै निर्वाचनमा जान सहमत गराएका छन् ।
निर्वाचन पछि गौतम पनि माओवादी केन्द्रमै समावेश हुने प्रायः निश्चित जस्तै रहेको छ । पुष्पकमल दाहालले वामपन्थी दलहरुलाई आफ्नो पार्टीमा समाहित गराएर गठबन्धनमा रहेका दलहरुमा आफ्नो शक्ति बढाउने रणनीति लिएका छन् । गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले समेत माओवादी केन्द्रमा समाहित हुन कार्यदल नै बनाएको छ भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पहिला नै आफ्नो पार्टीलाई माओवादी केन्द्रमा समाहित गराउने रणनीतिमा रहेका भएपनि दाहालकै सल्लाहमा निर्वाचन पछिमात्र पार्टी एकीकरण गर्ने रणनीतिमा रहेका छन् ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका भएपनि पछिल्लो समयमा दाहालकै इच्छामा अब डा. भट्टराईको र वामदेव गौतमको पार्टी समेत गठबन्धनमा रहने भएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा ल्याउने प्रयास गरेपछि कांग्रेसलाई सिट बाँडफाँडमा दबाबमा राख्न र आफ्नो पक्षमा बढी सिट संख्या पार्न भट्टराई र वामदेव गौतमलाई प्रयोग गरिरहेका छन् ।
अध्यक्ष दाहालले आफ्नै पार्टीलाई एकजुट बनाएर अघि बढाउन नसकिरहेका बेला आफ्ना पार्टीका नेताहरुलाई तह लगाउनका लागि पनि भट्टराई र गौतमलाई प्रयोग गरिरहेका छन् । भट्टराईले कुनै बेला भनेका थिए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टाचारका नाइके हुन् उनले माओवादी सेनाको नाममा आएको रकम ठुलो मात्रामा भ्रष्टाचार गरेका छन्, म त्यसको प्रमाण दिन सक्छु भनेर ।
कालीगण्डकीमा पनि दाहालले अबौं रकम खाएको आरोप लगाउँदै आएका भट्टराई अहिले तिनै आफैँले भ्रष्टाचारीको नाइके भनेका व्यक्तिसँग मिल्न गएका हुनाले भट्टराई पनि काहिँ न काहिँबाट निर्देशित रहेछन् भन्ने प्रमाणित भएको छ । के हिजो आफैँले दाहालमाथि लगाएका आरोपहरु अब के हुने ? के भट्टराई त्यसको जवाफ जनतालाई दिनुपर्ने कि नपर्ने ? हिजो आफैँलाई भ्रष्टाचारका नाइके भएको आरोप लाउने र आरोपित व्यक्ति आज कसको निर्देशनमा एकै ठाउँमा बस्न बाध्य भए ? त्यो रहस्यको विषय बनेको छ । यी दुवै एकै ठाउँमा बस्नु भनेको कसैको आदेश पालना गर्नु बाहेक अन्य केही हुन सक्दैन । अध्यक्ष दाहालले त आफूँ र डा. भट्टराई एकै ठाउँमा बस्नु ठुलो महत्व रहेको छ समेत भनिसकेका हुनाले त्यो महत्व भनेको के हो ? जनताले थाहा पाउनु किन नपर्ने ?
पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडको लागि भएका प्रयास र कांग्रेस र माओवादी केन्द्रले लिएका अलग अलग अडानमा माओवादी केन्द्रलई बलियो देखाउनका लागि दाहालले अनेक प्रयास गरिरहेका छन् । समाजवादी मोर्चा बनाउने जाल पहिला दाहालले फ्याकेका थिए तर त्यसले आकार लिन सकेको थिएन । त्यसको एउटै कारण थियो त्यो मोर्चामा नेकपा एमाले सामेल नहुनु । मुलुकको सबैभन्दा ठुलो वामपन्थी पार्टीलाई बाहिर राखेर दाहालले कस्तो मोर्चा बनाउन चाहेका थिए, त्यो सबैले बुझेका छन् ।
दाहाल जसरी भएपनि फेरी प्रधानमनत्री बन्न चाहिरहेका र उनले त्यसबेला त्यही मोर्चाको सहयोगमा प्रधानमन्त्री बन्न चाहेका छन् । पाँच दलीय गठबन्धनले यस पटक निर्वाचनमा बहुमत ल्याएको खण्डमा पनि कांग्रेसका सभापति देउवा नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेकाले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि दाहाल जस्तोसुकै हथकण्डा अपनाउन पनि तयार रहेका देखिन्छ ।
कांग्रेसले दाहालको रणनीति बुझेका हुनाले उसले माओवादी बाहेकका अन्य साना दलको सहयोगमा प्रधानमन्त्री बन्न सक्ने गरी रणनीति लिएको हुनाले दाहालले त्यसलाई रोक्न भट्टराई र गौतमलाई प्रयोग गरिरहेका भएपनि अहिलेको अवस्थामा त्यो सम्भव नदेखिएको हामीले ठहर गरेका छौँ । दाहालको भनाईमा आउँदो निर्वाचनपछि माओवादी पार्टी सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्ने उद्घोष समेत ब्रेक लाग्न सक्ने प्रायः निश्चित जस्तै देखिएको हामीले ठानेका छौँ ।

footer