kumari
stcnepal

बेलायतको प्रधानमन्त्री बनेकी लिज ट्रस, को हुन ?

एजेन्सी ।लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्ड स्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् । ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् । देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ । किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ । विवाद बीच जुलाई महिनामा मन्त्रिपरिषद्का सदस्यहरुले एकपछि अर्को राजीनामा दिएपछि बोरिस जोनसनले पद त्याग्न बाध्य भएका थिए । जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छनोट गर्न सात साता लामो प्रक्रिया चलेको थियो ।

नयाँ नेतृत्वका लागि सुरुमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदान बाट प्रतिस्पर्धाको अन्तिम चरणमा ट्रस र सुनक छानिएका थिए । उनीहरू मध्ये एक जनालाई छान्न टोरी पार्टीका १ लाख ६० हजारले मतदान गरेका थिए । अधिकांश सांसदहरूको समर्थन सुनकलाई भए पनि पार्टीका सदस्यहरूले ट्रसलाई बढी रुचाएको विभिन्न मतसर्वेक्षणहरूले देखाएका थिए ।

विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन् । उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन् । सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीहरूले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन् ।

सन् २०१० मा संसदमा मात्र निर्वाचित भएकी ट्रस अपेक्षाकृत छोटो अवधिमा आफूलाई एक राजनीतिक शक्तिको रूपमा स्थापित गरिन् । उनले आफ्नो एजेन्डालाई अथक जोस र स्पष्ट उत्साहका साथ अगाडि बढाएकी छिन् ।

footer