kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं ।देशका विभिन्न भागमा आज बिहानै देखि वर्षा भइरहेको छ । प्रदेश–१, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आन दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

footer