kumari
stcnepal

डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, निधन हुनेको सख्या ३२ पुग्यो

काठमाडौं ।असारयता तीव्र रुपमा फैलिइरहेको डेंगु संक्रमण बाट यसवर्ष निधन हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । यी बाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

नेपालमा डेंगु संक्रमण नियन्त्रण बाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तर बाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।

 

footer