kumari
stcnepal

बंगलादेश माथी नेपालको सहज जित

काठमाडौं ।अन्जन विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश माथि सहज जित हात पारेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जनले गरे ।

नेपालले १८औं मिनेटमा अन्जनले गोल बाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमाउ उनले हेडर गोल गरेका हुन् । २७औं मिनेटमा अन्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइड बाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।

खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । साथै नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइड बाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।

footer