kumari
stcnepal

मंसिर ४ गतेपछि बन्ने सरकारपनि जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हुने

 

आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि दलहरुलाई उम्मेदवार खडा गर्न महाभारत नै भयो । पाँच दलीय गठबन्धन निर्माण गरेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै निर्वाचनमा जाने सहमति जनाएका थिए तर सिट संख्याको बाँडफाँडमा सहमति हुन नसकेपछि अन्तिम समयमा जनता समाजवादी सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग गठबन्धन गर्न पुग्यो भने लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनसँग गठबन्धन गर्न पुग्यो । मुलुकको सबै भन्दा ठुलो पार्टी नेकपा एमाले सहित नेपाली कांग्रेस लगायतका अन्य दलहरुभित्र समेत टिकट वितरणमा चित्त नबुझाएपछि यस पटक धेरै बागी उम्मेदवारहरु खडा भएका छन् ।
दलहरुले गठबन्धन र तालमेल गरेका हुनाले आ आफ्ना दलका उम्मेदवारका आकांक्षाीहरु उम्मेदवार बन्नबाटै बञ्चित भए । नेपाली कांग्रेसले गठबन्धनका कारणले गर्दा नै १ सय ६५ सिट मध्येका संघीय संसदको निर्वाचनमा जम्मा ९० सिटमा चित्त बुझाउनुपर्ने भएपछि कांग्रेसले ७५ सिटमा निर्वाचन नै नभई पराजित भएको छ । माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । भने लोसपालाई र डा. बाबुराम भट्टराईलाई पनि केही सिट बाँडफाँड गरेका छन् । यस पटकको निर्वाचनमा सबैभन्दा घाटा डा. बाबुराम भट्टराईलाई भएको छ । डा. भट्टराईले आफूँ निर्वाचन नलड्ने घोषणा गरेपछि उनको भागमा काठमाडौ निर्वाचन क्षेत्र ७ बाट आफ्नी छोरी र सर्लाही २ बाट महेन्द्र यादव गरी दुई जनाले टिकट पाएका छन् ।
यसरी बाबुराम भट्टराईले माओवादी केन्द्रको निर्वाचन चिन्हबाटै निर्वाचन लड्ने उद्घोष गरेका भएपनि अन्तिममा उनले छोरी र यादवलाई टिकट दिलाएर माओवादी केन्द्रको चिन्हबाटै निर्वाचन लडाएका छन् । नेकपा एमालेबाट अलग भएका वामदेव गौतमले समेत माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लड्ने बताउँदै आएका भएपनि अन्तिम समयमा उनी यता न उताका भएका छन् ।
नेकपा एमालेले पनि जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही ठाउँमा तालमेल गरेको छ । जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल निश्चित निर्वाचन क्षेत्रमा गरेको कारणले गर्दा पनि यस पटकको निर्वाचनमा नेकपा एमाले नै सबैभन्दा बढी उम्मेदवार उठाउने राजनीतिक दल भएको छ । प्रायः सबै दलहरुमा टिकट वितरणपछि असन्तुष्टि देखिएको र केही व्यक्तिहरुले गठबन्धनकारी दलहरुको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केही व्यक्तिहरुले आ आफ्नो राजनीतिक दल नै परित्याग गरेका छन् । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी नै परित्याग गरेका छन भने कांग्रेस, माओवादी, जनता समाजवादी र लोसपाका केही नेताहरुले पहिला नै पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरिसकेका छन् ।
विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा झण्डै दुई लाख नेता तथा कार्यकर्ताहरु प्रवेश गरिसकेका हुनाले केही व्यक्तिहरुले पार्टी परित्याग गर्दैमा नेकपा एमालेलाई खासै असर नपर्ने एमालेका नेताहरुले बताइरहेका छन् । नेकपा एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादीमा गएका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किएका हुनलो नेकपा एकीकृत समाजवादीलाई भने पहिलो पटक नै गठबन्धनको बल चाहिएको छ । उसले गठबन्धन विना एक÷दुई सिट सम्म जित्न सक्ने सम्भावना नभएकाले गर्दा ऊ कांग्रेस र माओवादी केन्द्रका पुच्छर समात्न बाध्य भएको छ ।
आउँदो मंसिर ४ गते हुने निर्वाचन पछि पनि कुनै एक दलले बहुमत ल्याउन सक्ने सम्भावना नदेखिएको हुनाले मंसिर ४ गते पछि बन्ने सरकारले समेत स्थिरता दिन सक्ने सम्भावना न्यून रहेको छ । एउटै दलले बहुमत ल्याउन नसक्ने र मिलिजुली सरकार सञ्चालन गर्ने अभ्यास समेत राजनीतिक दलहरुमा नदेखिएको हुनाले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकार पनि सरकारका लागि सरकार मात्र हुने निश्चित रहेको छ । यस पटकको निर्वाचनको विशेषताः भनेको २०७४ सालमा भएको निर्वाचनपछि सभामुख बनेका कृष्णबहादुर महरा र अग्नि प्रसाद सापकोटा दुवैलाई सम्बन्धित दलले टिकट दिएन । उनीहरु दुवै निर्वाचनमा जानबाट बञ्चित रहे भने कतिपय नाम चिनिएका नेताहरु निर्वाचनमा जानबाट बञ्चित रहे ।
वामदेव गौतम डा. बाबुराम भट्टराई लगायत अन्य केही नेताहरुको राजनीतिक जीवन नै समाप्त भएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै निर्वाचन क्षेत्रबाट कहिल्यै निर्वाचन लड्न नसक्ने नेताका रुपमा चिनिएका छन् । यी सबै कारणहरुले गर्दा नेपाली जनताको लागि आउँदो निर्वाचनपछि बन्ने सरकार पनि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तो नेपाली जनतालाई पनि त्यस्तै हुने हामीले ठानेका छौँ ।

footer