kumari
stcnepal

फेरि अस्थिरता, उही अराजकता

 

राजन कार्की
चुनावको नतिजाले गठबन्धनलाई तितरबितर पार्ने देखियो । एकल दलको सरकार नबन्ने पक्का छ । मिलिजुली अर्थात दुई वा दुईभन्दा बढी दल मिलेर बन्ने सरकार भनेको भागबण्डे सरकार नै हो । केही युवा, नयाँ अनुहारले जितेका छन्, तिनले जनताको आवाज उठाउने छन् । निर्णायक त दल नै हुन्, युवा र नयाँ अनुहारले निर्णय गर्न सक्ने केही पनि हुनेछैन । हो, खबरदारी गर्ने तिनको दायित्व पूरा गर्ने छन् ।
नभको मामाभन्दा भएकै मामा जाति भनेझैं निर्वाचन परिणामले जुन प्रकारको परिवर्तित नतिजा दिलाएको छ, केही न केही शासनमा सुधार आउने पक्का छ । नयाँ धार, नयाँ आधारका रुपमा चुनाव जितेका युवा र नयाँ अनुहारले उमेर र सोचले बुढो भएका राजनीतिज्ञहरुलाई सही मार्गमा ल्याउन दबाब सिर्जन ागर्ने निशिच्त छ ।
जो जितेर आएका छन्, नयाँ दल, नयाँ अनुहार, स्वतन्त्र र विद्रोहीहरु तिनले साँच्चै राजनीतिक भविष्य निर्माण गर्ने हो भने भ्रष्टाचार कुशासनलाई हटाउन कडा कानुनको र संवैधानिक निकायहरुको भूमिकालाई चुस्त दुरुस्त पार्नेमात्र होइन, नियुक्त भएका र नियुक्त हुने संवैधानिक अङ्गहरुमा योग्य, जवाफदेहीता लिनसक्ने व्यक्तिहरु हुनुपर्छ भनेर मुद्दा उठाउनु पर्छ । सडकमा पानी पोखिएझैं पोखिएको अदालती बन्दोबस्तलाई सुधार ल्याउन सुरु दिनदेखि नै सरकारलाई घचघच्याउनु पर्छ । प्रधानन्यायाधीश अहिले पनि महाभियोग बोकेर अवकाश भएका छन्, तिनको तत्काल निर्णय गर्नुपर्छ । भ्रष्टाचारका अनेक मुद्दा छन्, तिनको छिनोफानो गराउने जिम्मा यिनै नयाँ र युवा विजेता सांसदहरुको हुनेछ ।
निश्चित छ, सरकार गठबन्धनकै बन्नसक्छ, एकदोस्रालाई धोकेवाज भनेर गठबन्धन भाँडिन पनि सक्छ । कांग्रेस र एमाले मिल्न सक्छन्, एमाले र माओवादी पनि एक हुनसक्छन् । चुनाव अघि र चुनावका बेलामा गठबन्धन र एमालेबीच यति धेरै तिक्तता बढेको छ कि एकले अर्कोलाई खुइल्याउन कुनै कसर बाँकी राखेनन् । यसकारण एमालेले मधेशवादी, स्वतन्त्रहरुको विश्वास जित्ने प्रयास गरेर सरकार बनाउन पनि सक्छ । जुनसुकै अवस्थामा नयाँ अनुहारहरु सरकार निर्माणको निर्णायक स्रोत बन्नसक्छन् । यही बेला हो, शासन प्रशासनमा सुधार ल्याउन नवप्रवेशी सांसदहरुले गहन भूमिका खेल्नुपर्ने समय ।
निर्वाचन परिणाम आउँदैछ, केही दिनमै संसदको बैठक बोलाइनेछ । संसद प्रवेशको पहिलो दिनदेखि नवप्रवेशीको अग्नि परीक्षा सुरु हुनेछ । मतदाताले यिनलाई निकै आशा गरेर पठाएका छन्, यिनका हरेक क्रियाकलापलाई नियालेर हेर्नेछन् । यिनको काम गराइमा मतदाताले भावी दिनमा कसरी मतदान गर्ने भन्ने निर्णय पनि गर्नेछन् ।
चुनाव सकियो, धेरै खोटा सिक्काजस्ता नेताहरु छाँटिए, जनताले पत्याएनन् । चुनाव हारिन्छ कि भन्ने भयले संसदीय मर्यादासमेत लाघेर चिच्याउन, कराउन थालेकाहरु केही संसदमा पुगेका छन्, केही सडकमै पछारिए । बिगत १५ वर्षमा जनताको कुरा सुनेको भए, जनताप्रति जवाफदेही भएको भए यसरी नेतृत्व परिवर्तन नहुन सक्थ्यो । जसरी पनि जनादेश लिने र जनतामाथि अत्याचार गर्ने बानी परेका गैंडाका छालाजस्ता नेताहरूलाई जसरी पनि चुनाव जित्नुछ, जित्नका लागि साम दाम दण्ड भेद प्रयोग गरे । गरीबको मतको दुरुपयोग गर्ने तिनको बानी सुध्रिएन । जो चरित्र भ्रष्ट छन्, तिनलाई देश र जनताको कुनै चिन्ता छैन, चिन्ता छ त सत्ता, शक्ति र प्रभावको छ । त्यसैले करोडदेखि अर्वसम्मको चलखेल गरेर भोट किन्ने, चुनाव जित्ने रणनीतिमा नेतृत्व लागेको देखियो । यो परम्परालाई तोड्ने विजेता बनेका नयाँ अनुहारले हो ।
निश्चित छ जति बढी खर्च गरे, चुनाव जितेपछि त्यो पैसा असूल्नतिर लाग्नेछन् । यो भ्रष्टाचारको प्वालहरु थुन्ने जिम्मा नवप्रवेशी युवाहरुको हो । अर्थात्, बानी बिग्रेकाहरुबाट हुने भ्रष्टाचार नै हो । विधिको शासन भनेको त भाषण गर्ने विषयमात्र हुनपुग्यो । समृद्ध नेपाल, सुखी नेपाली भन्ने यिनको नारा चुनाव जित्न छर्ने भ्रमजालमात्र हो । यो जालो तोड्न सकिएन भने त्रिशंकु संसद र मिलिजुली सरकारबाट देश र जनता फेरि जिल्लिन सक्छन् ।
हरेक पार्टी र नेताले घोषणापत्र बोकेर घरदैलो पुगेका थिए । मतदाताको खुट्टा ढोग्नेदेखि मतदाताको खेतबारीमा काम सघाउनसम्म पुगेको देखिएकै हो । ५ वर्षसम्म जनतालाई बेवास्ता गर्नेहरु चुनावका बेलामा मतदाता रिझाउन पुग्नु भनेको फेरि पनि मतदातालाई उल्लु बनाउने खेलोमात्र थियो । यो कुरा मतदाताले बुझेर निर्णय दिएका छन् । अब जनताप्रति जिम्मेवारी निभाउने बेला आयो, निभाउलान् कि उही पुरानै बाँदर चाला देखाउलान् ?
सबै टल्कने वस्तु सुन हुँदैनन् । यो कहावत नेपाली राजनीतिमा ठ्याक्कै मेल खान्छ । जनयुद्ध अथवा जनआन्दोलनमा निकै टलकदार देखिएका हाम्रा नेताहरू १५ वर्षमा खोटा साबित भए । एकजना पनि राष्ट्रले देख्ने सुन्ने नेतृत्व छैन । परिवर्तनपछि खिया लाग्दै गएको नेतृत्व अब त बेकम्मा, निकम्मा भयो भन्दा हुन्छ । किनकि कुनै नेताप्रति जनविश्वास नै छैन । हो, चुनाव आयो, जनताले मतदान गरे । तर यो राम्रो उमेदवार भनेर मतदान गर्ने वातावरण धेरै थोरै देखियो । नो भोटको अथवा चुनाव जितेर गैरजिम्मेवार हुनेलाई रिकल गर्ने व्यवस्था पनि छैन । मेसिनबाट मतदान गर्ने व्यवस्था यिनैले गरेनन् किनकि जालझेल गर्न पाइन्न भनेर । मात्र परिवर्तनका बाहक हौं भनेर भाषण गर्ने र अस्वस्थ प्रतिस्पर्धा गरेर भए पनि चुनाव जित्ने यिनको मुख्य उद्देश्य रहेको देखियो, यसमा धेरै जना सफल पनि भए । तर अब सुनझैं टल्कने नेता निस्कनु पर्छ । राष्ट्रले पत्याउने, विश्वास गर्ने नेता जन्मिनु पर्छ ।
अचम्म त के छ भने पहाड वा तराईका किनारतिर गएर सोध्दा तिनले एकदुई नेताको नामबाहेक केही भन्नै सकेनन् । तिनले जानेको कुरा भनेको चुनाव आयो, केही पैसा पाइन्छ, मिठो खान पाइन्छ भन्ने मात्र हो । चुनाव भनेको के हो ? चुनावमा दिने मतको महत्व कति छ, यसबारेमा उचित संचेतनाको अभाव छ । अब चेतना फैलाउनु पर्छ । यसरी सधैं मतदातालाई अन्धकारमा राखेर हुँदैन, तिनको क्षमता बृद्धि गराउनै पर्छ ।
हुन त दीपक मनाङ्गे सर्वसम्मत जितेपछि राजनीतिक दलहरूकै ओजन थाहा लाग्छ । बाँकी जनताको कुरा के गर्नु र ? छल गर्नु राजनीतिक उद्यम हो । राजनीति व्यवसाय बनेको छ । नेता जनतालाई छल्छन्, प्रशासक कानुनलाई छल्छन्, उद्यमी व्यापारी भ्याट, कर ठग्छन् । अदालत न्यायको नौसिङ् देखाउँछन् । ०६३ सालपछिका दिनमा आ–आफ्ना सख्य र पहुँचले सकेजति लुट्ने क्रम तीब्र गतिले बढ्नुको कारण छलनीति हो । इमानको खडेरी हो । अब छलनीति चल्न दिनुहुन्न ।
आफूले दायित्व पूरा गर्न नसक्दा अराजकता बढ्यो भन्ने लज्जावोध कुनै स्थापित नेताको अनुहारमा देखिदैन । उनीहरु नै चम्किरहेका छन्, रित्तो भाँडो बजेझैं बजिरहेका छन् । शायद यस्तै परिस्थितिलाई मध्यनजर राखेर उखान बनेको होला– नङ्गा नाचे हजार दाउ । मंसिर ४ को निर्वाचन पुराना नेताहरूको नङ्गा नाच बढी हो । नयाँ आएका छन्, तिनले यो उखानलाई बदल्नुपर्छ ।
राजनीतिक नेतृत्वमा क्षमता हुन्छ, उदारता, गतिशीलता र दूरदर्शिता हुन्छ । त्यस्तो गुण भएका नेतालाई राजनेता मानिन्छ । ०६३ सालमा निरङ्कूशता चाहिदैन भनेर जनताले परिवर्तनमा साथ दिए । तिनै जनताका लागि लोकतन्त्र कौवालाई बेल पाकेसरह भयो । नेताका लागि लोकतन्त्र बाँदरको हातमा नरिवल बनेको छ । अब सुरु हुनुपर्छ, लोकतन्त्र लोकका लागि हो । लोकतन्त्रका लोक देखिनुपर्छ । लोकतन्त्रमा लोकअपेक्षाको संवोधन हुनुपर्छ ।
लोकतान्त्रिक वसन्त आयो, नेता र तिनका आफन्तजनलाई आयो । चोर डाँकालाई आयो, भ्रष्टलाई आयो, गुण्डा माफियालाई आयो । लोकले वसन्त देख्न पाएनन् । लोकले देखेको भोगेको अराजकता हो । यो चुनावपछि पनि उही मिलिजुली सरकार, सेटिङ र भागशान्ति सरकार आउने हो । स्थिरता र विकास केही हुनेवाला छैन । भ्रष्टाचार झन बढ्नेछ । अर्थात् नेपाल श्रीलंकाको जस्तो आर्थिक अराजकताको सिकार हुने जोखिम बढी छ । नागरिक समाज, बुद्धिजीवी, थिङ्क टेंक सबै तमासा हेरेर बसेका छन् । जुन दुर्भाग्यजनक स्थिति हो ।
यो चुनाव आशीर्वाद होइन, सराप बन्नेवाला छ । सराप बन्न नदिने दायित्व नवप्रवेशी सांसदहरुको हुनुपर्छ । पुरानालाई सुधार्ने र भ्रष्टाचारी परम्परा तोड्ने जिम्मा नयाँ अनुहारहरुले गर्नुपर्छ । सक्लान जिम्मेवारी निभाउन ?

footer