kumari
stcnepal

काठमाडौं महानगरपालिका महानगर प्रहरी पाण्डे माथि छानबीन सुरू

काठमाडौं ।काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डे माथि एक महिला नगर प्रहरी हवल्दारले आफू माथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोल समक्ष निवेदन दिएकी थिइन् ।

पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्र माथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।मंगलबार महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो । ७ दिन भित्र पाण्डे माथि छानविन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ ।महिला नगर प्रहरी हवल्दारको निवेदनपछि महानगरले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । पाण्डेले पुस ५ गते आफू बाट गल्ती नभएको भन्दै स्पष्टीकरण बुझाएका थिए ।

समितिको निर्णयको बारेमा प्रतिवेदन आएपछि मात्रै भन्न सकिने मानन्धरले बताए । यस विषयमा विवाद भएपछि नगर प्रहरी प्रमुखको कार्यशैली माथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले राजनीनामा नै दिएका थिए । उनले नगर प्रहरीहरु माथि माथिल्लो तहबाट पटक-पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको बताएका छन् ।

footer