kumari
stcnepal

दर्ता नभएका क्रसर चलाउन नपाइने, कर नतिरेकालाई कर तिर्न असार सम्म म्याद दिएर संञ्चालन गर्न दिइने निर्णय

काठमाडौं । विकास निर्माणका काममा बाधा उत्पन्न भएपछि सरकारले असारसम्म कर तिर्ने समय दिएर क्रसर उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ । दर्ता नभएका क्रसर उद्योग भने सधैका लागि बन्द गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले पुस तेस्रो साता देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

गृह मन्त्रालयले कानुनबमोजिम दर्ता नभएका, नवीकरण नभएका तथा आयोजनाका नाममा सञ्चालनमा रहेका, तर अवधि सकिएका क्रसर बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि उद्योग बन्द रहँदै आएका थिए । उद्योग बन्द हुँदा निर्माण कार्यमा समस्या आएको थियो ।

बैठकमा क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् भने सर्तसहित संचालन गर्न दिने निर्णय गरेको बताइएको छ । विकास निर्माणका काममा ढुंगा, गिट्टी र बालुवाको अभावले समस्या देखिन थालेको विषय मन्त्रिपरिषद्मा उठेको थियो । अवैध रूपमा संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय भएको छ भने दर्ता भएर कर नतिरेकाका सन्दर्भमा कर तिर्दै गर्ने र संचालन पनि गर्ने निर्णय भएको छ ।

सरकारले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने गरी तयारी गर्ने पनि निर्णय पनि गरेको छ । अहिले कर नतिरी संचालनमा रहेका क्रसर उद्योगहरूलाई असार मसान्तसम्म कर तिर्ने अवधि दिएर त्यसपछि नयाँ कानुनअनुसार संचालन गर्न दिने निर्णय भएको बताइएको छ ।

footer