kumari
stcnepal

जनता विद्रोह गर्न थाले, व्यवस्था हल्लियो

 

राजन कार्की
पूर्वाञ्चलमा नागरिक अभिनन्दन स्वीकार गरेर फर्केका पूर्वराजालाई २० गते नेपालगञ्चमा नागरिक अभिनन्दन गरियो । स्वयम पूर्वराजाले आफ्नै पाखुरीको बलमा अघि बढ्न कम्मर कसौं भनेर आह्वान गर्दा जनता हौसिएका छन् । यसअघि जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमलाई मौसमले सफल हुनदिएन ।
झण्डै महिनाभरि मध्य र सुदूर पश्चिम, कर्णालीका जनताकासँग अन्तरक्रिया गर्ने पूर्वराजाको तैयारी छ । नागरिकहरु स्थापित नेता र १६ वर्षदेखिको असफल राजनीतिबाट निराश भएका छन् । उपचुनावको नतिजाले स्थापित दलहरुलाई जनताले अस्वीकार गरेको र बिद्रोह मानसिकताको सन्देश दिइसकेका छन्, अब पनि नेतृत्व सुध्रिन चाहेन भने यो पद्धतिमा यू टर्न आउने निश्चित छ भन्ने अनुमान बाक्लिदै गएको छ ।
२७५ सिटे संसदमा ३२ सिटे माओवादीले सरकार बनाएपछि राजनीति अझन झन लेनदेनमा डुबेको र अराजकता फैलिदै गएको छ । स्थिरता छैन, हुने देखिदैन । राजनीतिको यही विश्वास मान्ने हो भने सरकारमा सामेल ११ टाउके दलहरूलाई जनताले मध्यावधि अथवा आवधिक कुनै पनि चुनाव भयो भने पन्छाएदिने देखिन्छ । ठूला दलहरु लोभीपापी काम गरिरहेका छन्, अझै पनि गुटबाजी गर्ने, विभेद र निषेधको राजनीति अघि बढाउने, अहंकार देखाइरहेका छन् ।
हालैको उपचुनावमा एघार टाउके दलीय सरकारले मिलेर उपचुनाव लडेका थिए, जनताले माओवादी गढ चितवन र कांग्रेसी गढ तनहुँमा चार चार प्रधानमन्त्रीहरू प्रचण्ड, देउवा, डा.बाबुराम र माधव कुमार नेपाललाई हराइदिएका छन् । तिमीहरूको आदेश अब जनतालाई स्वीकार छैन भनेर जनादेशबाट सुनाइदिए ।
अर्थात टाउका धेरै हुँदैमा गिदी धेरै हुने रहेनछ भन्ने देखियो । जनताको मनस्थिति अब आक्रामक काममा र युवा जोशतिर आकर्षित हुनथालेको देखिन्छ ।
इतिहासका पानामा जनाक्रोशले के मात्र गर्दैन भन्ने अनेक उदाहरण छन् ।
बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइएको घटना जनताको आक्रोशको उग्ररुप थियो ।
नेपालमा संविधानसभाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन ग¥यो । गणतन्त्र कायान्वयन विधिसम्मत थिएन भन्ने मत बलियो छ तर पार्टीहरुका अनुसार कार्यान्वयन भएरै छाड्यो र २०७२ सालमा संविधानमै संघीय गणतन्त्र नेपाल र धर्मनिरपेक्षता लेखियो । जनताले त्यसलाई अपनत्व ग्रहण गरेका छैनन्, यो विषय राष्ट्रिय मुद्दाका रूपमा काँडे कोर्रा बनेर राजनीतिक प्रशासक र आमनागरिकलाई घोचिरहेको छ । यही मुद्दाको व्यवस्थापन गर्न नसक्दा र आफ्ना परिवर्तनकारी विश्वास कायम गर्न नसक्दा नेताहरु जनताका आँखामा बिझाउन थालेका छन् ।
यसकारण यो परिवर्तन अब धेरै दिन टिक्लाजस्तो छैन । स्वयम् प्रधानमन्त्री र नेताहरु भन्न थालेका छन्, यो उपलब्धि उल्टिएलाजस्तो छ । खासगरी पूर्वराजातिर र नयाँ पार्टीतिर जनताको मत जाहेर हुनथालेपछि यो व्यवस्थामा भूकम्प जान थालेको हो । राजनीतिले यू टर्न लिन सुरू भयो भने जनताले खोजेको अर्को परिवर्तनलाई रोक्ने कुन नेताले ? किनकि हरेक नेता जनताका लागि भ्रष्टाचारी, अनैतिक भनेर घृणाका पात्र बनेका छन् ।
परिवर्तनपछिका १६ वर्षमा हरेक पार्टी नेताहरू सकेजति देश र जनतालाई लुटिरहेका छन् । त्यसैले ठूला नेता र पार्टीहरू गणतन्त्र राम्रो भन्छन्, आमनागरिकका लागि गणतन्त्र र संघीयता ‘अनावश्यक कर र भार’ मात्र बनेको छ । जनताले यो पद्धतिबाट शोषणबाहेक केही पाइरहेका छैनन् । बोल्न छुट छ, बोलीको ओजन छैन, सुनवाई कहीं हुँदैन । पद्धतिले दिनुपर्ने सुशासन हो, सर्बत्र कूशासनमात्र छ । यो परिवर्तित अग्रगमन पूर्वीय नेपाली संस्कृति, संस्कार र सभ्यता मास्ने चेर्नोविल विकीकरणयुक्त दूधजस्तो विषालु अनुभूति भइरहेको छ । नेतृत्व बर्गको भ्रष्टाचार र विदेशपरस्तता यति बढेको छ कि यही राष्ट्रघात यो पद्धति महिसासूरले जे पनि चपाएजसरी चपाएर राष्ट्र सिध्याउन अगाडि बढेको छ भन्दा हुन्छ ।
प्रजातान्त्रिक पार्टी भनिने कांग्रेस स्वयम जनवादी माओवादको पुच्छर बनेको छ । यो कांग्रेसी अभ्यास बीपी कोइरालाजस्ता नेताको अपमान हो । नेपालमा कम्युनिष्ट बलबती हुनु र प्रजातन्त्रवादी यसैगरी जन अविश्वासको पहिरोमा पर्दै जानु स्वभाविक थियो । ०८४ को चुनाव भयो भने कांग्रेस सहितका सत्ताधारी एघार दल कहाँ पुग्लान्, अहिले अनुमान मात्र गर्न सकिन्छ ।्
कांग्रेस सिद्धान्तहीन भएकाले बेहाल हुनै थियो । भइसक्यो । कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हाल्नु सैद्धान्तिक बिचलन थियो, त्यो बिचलन झन् झन् बढेर जाँदो छ । योभन्दा कांग्रेसको पतन अरु के हुनसक्छ ? एकातिर भ्रष्टाचार बढ्नु, अर्कोतिर कुशासन र आर्थिक अराजकता, आक्रोसित जनता सडकमा निस्किए भने यो पद्धति, शासक, प्रशासक बर्गको भागम्भाग नहोला भन्न सकिन्न । आर्थिक जरजर अवस्था हेर्दा विज्ञहरु भन्छन्– छिटै नेपालमा श्रीलंकामा जस्तो भयानक अराजकताका परिदृश्य देखिन सक्छन् ।
आमनागरिक हिजो प्रताडित थिए, आज पनि पीडित छन् । न्याय कुन चराको नाम हो कसैले बताउन सक्दैन । अन्याय बढेको छ । गठबन्धन र सेटिङ देखिन्छ । विधिको शासन कतै देखिन्न । लेनदेन र व्यभिचार देखिन्छ, योग्यको कदर हुँदैन । युवायुवती बाध्य भएर रोजगारीका लागि विदेश पलायन हुने क्रम झन बढेर गएको छ । यो राजनीतिक असफलताको चरम रुप हो ।
अमेरिकी राष्ट्रपति केनेडीलाई गोली हानेर मारियो । बंगलादेशमा शेख मुजिवर रहमानलाई पनि गोली हानेर मारिएको हो । इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । राजीव गान्धी आत्मघातीबाट मारिएका थिए । जनयुद्धमा जतिसुकै आतंककारी हत्या भए पनि आक्रोसित जनताको आक्रोश बढ्दै गयो भने नेपालमा त्यस्ता क्रुर हत्याकाण्ड नहोला भन्न सकिन्न । किनकि जनता हरेक नेतालाई ‘चोर, भ्रष्टाचारी, अनैतिक’ भन्न थालिसकेका छन ।
लोकतन्त्र लोकको शासनव्यवस्था हो । लोकको शासन व्यवस्थामा लोकको अपमान भइरहेको छ । लोकादेशको सम्मान छैन । लोकादेश नेताका लागि लुट्ने र आफन्त पोस्ने लाइसेन्स बनेको छ । यो अवस्था फेरिएन भने व्यवस्था फालिन सक्छ । व्यवस्था फालिनु भनेको परिवर्तनकारी हरेक नेता फालिनु हो । आमनागरिकले मृत्युघण्ट बजाइसकेका छन् । त्यो आवाज नसुन्ने हो भने अचम्मलाग्दा घटना र चुनाव नै भइहाले पनि आश्चर्यलाग्दा नतिजाहरु सार्वजनिक हुनेछन् । यसकारण नेता हुँ भन्ने हरेक पार्टीका व्यक्तिले आफ्ना गलत आचरण आजै सुधारुन् ।
भर्खरै नेपालीलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिकामा मानव तस्करीकाण्डको फाइल खुलेको छ । यो फाइलले सत्ताधारीको चरित्र नङ्ग्याइदिएको छ । यसपछि भ्रष्टाचारका फाइल खुल्नसक्छन् । हाललाई एउटा पार्टी केन्द्रित रुपमा फाइल खोलिए पनि भोलिका दिनमा हरेक पार्टीका पापका बही खाता खुल्नेछन् । जसले परिवर्तनकारी र १६ वर्षदेखि शासनसत्ता चलाउनेहरुको अनुहार देखाइदिनेछ । यसो हुनु भनेको संविधानको, संसदको, पद्धतिको, नेतृत्वको असफलता हुनेछ । यही असफलताले यो व्यवस्था ढल्ने, हरेक नेताको बर्चस्व ढालिने पक्का छ ।
सावधान, पार्टी पार्टीमा बिभाजन भएका नागरिक समाज पनि सचेत हुनुपर्छ । आमनारिकमा उठेको आक्रोशको ज्वाला ज्वारभाटा बन्नुपर्छ । शोषण धेरै भयो, मनलागी अति भयो, अब परिवर्तन गर्ने जिम्मेवारी जनताको हो । अब जनताले अभिभावक खोज्नुपर्छ । बिना अभिभावक देश खण्डहर बन्ने रहेछ भन्ने सबैले बुझ्नुपर्छ ।
उठौं, भ्रष्टाचार र कुशासनविरुद्ध जनता उठौं । जनताभन्दा बलियो को छन् र ?

footer