kumari
stcnepal

हरेक नेपालीको चासो–हामी रहौंला कहाँ नेपालै नरहे….?

 

राजन कार्की
समाजमा कुनै नीतिले काम गरेन भने आन्दोलनको उब्जनी गर्ने धरा साहित्य हो । साहित्य अन्योलको निकास हो । साहित्य परिवर्तनको झिल्का हो, अन्धकारबाट उज्यालो ल्याउनसक्ने आरती हो । साहित्य लाभा हो, साहित्य आभा हो । साहित्य मानव इतिहास फलाउने फुलाउने गाभा पनि हो । साहित्य लोकजीवन हो, जीवन ज्यूँदो हुनुपर्छ । देशमा मूर्दा शान्ति छ, देश चिहान हुनसक्दैन, देश हावा पानी हो, हुरी बतास हो, झरीपछिको आकाश पनि हो ।
फ्रान्समा भिक्टर ह्युगो भन्ने साहित्यकार थिए । देश बर्बादीको भीरमा पुगेको बेला उनले देश जागरणका कविता, उपन्यास, नाटक लेखे, कलम घोटे । विचारभन्दा शक्तिशाली केही हुँदैन भन्ने उनको मान्यता थियो । अर्को व्यक्तिलाई हेर, उसको अनुहारमा भगवान देखिन्छ भनेर मानवता जगाए । सन १८८५, मर्नु अघि सम्म पनि ह्यूगोले फ्रान्सलाई जगाइरहे । फ्रान्सका जागते रहो भन्ने कवि ह्यूगो मर्दा सिंगो फ्रान्सले शोक मनायो, अर्को ह्यूगो जन्माउन युवतीहरुले त्यसै दिन गर्भाधान गर्ने प्रतिस्पर्धा पनि गरे । राष्ट्रिय कवि राष्ट्रको सच्चा सिपाही पनि हो । यसकारण त फ्रान्स आज पनि भिक्टर ह्यूगोलाई मानवतावादी, राष्ट्रवादीका रुपमा सम्झिरहन्छ ।
हामी रहौंला कहाँ नेपालै नरहे… यस्ता कवि आज किन छैनन् नेपालमा ?
०६३ पछि जिन्दावाद मूर्दावाद, भीडवादको रङ उडिसक्यो । बहुदल, लोकतन्त्रको रङ खुइलीसक्यो । साहित्य समाज हो, अव समाज बोल्नुपर्छ । स्वार्थी राजनीतिक कात्रोले देश बेरिन पुगेको छ, गाँठो फुकाउँ कसरी, देश बौराउँ कसरी ? यस्तो औंशी अँध्यारोमा देश गुम्सिन सक्दैन । साहित्यले समाज परिवर्तनको बिद्रोह बोल्ने, नगारा बजाउने, बिगुल फुक्ने यस्तै बेलामा हो । नागरिक समाज सुतेको बेलामा, विवेक बेहोस् भएको समयमा, साहित्य ब्रम्हास्त्र हो, यो अस्त्र चल्नुपर्छ । देश स्वर्ग थियो, नर्क बनाउनेहरु विरुद्ध साहित्यको शंख फाुकेर स्वर्गीय आरती जगाउने बेला आयो ।
परिवर्तनका अनेक पानाहरु पल्टिए । सबै पानाहरु पेण्डोराका बाकस खोलेझैं भयो । नसालु र विषालु किट पतङ्गले माटो निल्दैछ, स्वाभिमान पचाउँदैछ, अस्तित्व समाप्त पार्दैछ । सबै शक्तिहरु निस्तेज भएका बेलामा बलबती हुने साहित्य नै हो । उज्यालो बनेर ब्यूँझ साहित्य, भोर बनेर उठ साहित्य, छरपस्ट भएको देशलाई मिलाउ साहित्य, च्यातिएको गुन्युचोलो सिलाउ साहित्य । जागरण जगाउ साहित्य । रोम जलिरहेझैं देश जलिरहेछ, निरो बन्न सक्दैन साहित्य । देश हो साहित्य, लोक हो साहित्य, संस्कार र संस्कृति हो साहित्य । राजनीति हो साहित्य, कूटनीति पनि हो साहित्य । राग हो, पराग हो, सीमाको खम्बा, स्वाभिमान र जगदम्बा, नेपाली सुर र नेपाली ताल हो साहित्य ।
२०४९ सालतिर रसियन कलेजमा पढाउने भारतीय प्राध्यापकले माउण्ट एभरेष्ट भारतमा पर्छ भनेर पढाए । यो सुनेपछि एउटा नेपाली विद्यार्थी जुरुक्क उठेर प्रोफेसरको छेवैमा पुगेर गाला चड्काइदियो, यो घटनाले मस्कोमा ठूलै चर्चा पायो । मस्कोवासीलाई ती नेपाली विद्यार्थीले प्रष्टिकरण दिए– माउण्ट एभरेष्ट नेपालमा पर्छ । गलत पढाउनु अनैतिकता हो । त्यस्ता विद्यार्थी थिए नेपाली, आजका विद्यार्थीमा त्यस्तो ताकत किन छैन ?
समाजवादी, जनवादी, सर्वहारावादी छन्, नेपालवादी कोही छैनन् । हरेक नेता देश चपाएर जिब्रो फट्कार्छन्, विवेकशीलहरुलाई यी नेताले के चटाए, विवेक बोल्दैनन् त ? देशले काँधमा बोक्नुपर्ने बुद्ध, बुद्ध शान्ति, बुद्ध गौरव, बुद्ध निर्वाणा सगरमाथा भएर विश्वभरि अग्लिनुपथ्र्यो, बुद्ध किन भ्रष्टाचारको नालीमा रगतपच्छे भएर घाइते छ ?
युरी गागरिनले ‘मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिए मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ’ भन्ने माग गरेका थिए कुनैदिन । त्यस्तो गर्व गर्नलायक कम्युनिष्टका अनुयायी नेपाली कम्युनिष्टले झापा विद्रोहदेखि जनयुद्धसम्म गरे, पटक पटक सत्तामा पुगे, अहिले पनि सत्तामै छन्, कम्युनिष्टहरु किन ‘दया’ पात्र बनेका होलान् ? नेपालको कम्युनिष्ट कस्तो छ भनेर बुझ्न मोहन चन्द्र अधिकारीको मगन्ते हालत र मोहन विक्रम सिंहको वक्तव्य क्रान्ति र प्रचण्डको सत्तालोलुपता हेरे पर्याप्त हुन्छ ।

दक्षिण एसियामा कम्युनिष्टका माष्टर माइन्ड हुन चारु मरुजदार । एकदिन उनले कार्यकर्ताहरु विचार कम्युनिजम, व्यवहार महल ठड्याएर पुँजीवादी शैलीको देखेपछि आफूले आफैलाई धिक्कारेर झुण्डिन पुगे । नेपालका कम्युनिष्टहरु देखेर चारु, गुजभानहरु लाजले भुतुक्कै भएका होलान् । कांग्रेस र अरु पार्टीका नेताहरुको ठालुपन देखेर समाजवाद परलोकबाट वीपी कोइराला आँसु चुहाइरहेका होलान् ।
केही वर्षअघि पोर्चुगल पुगेका मोहन विक्रम सिंहको अभिव्यक्ति सबै कम्युनिष्टले मनन गरुन् । सिंहले पोर्चुगलमा प्रष्टिकरण दिएका थिए– ‘नेपाली कम्युनिष्टको स्कूलिङ साह्रै राम्रो थियो । सत्ता र शक्तिमा चुर्लुम्मै डुबेर मोराहरु बिग्रिए ।’
नेपाली कांग्रेस जो १९८९ मा सदस्यमा सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलको सदस्य रहे पनि सिद्धान्त अँगाल्न सकेन । अरु प्रजातन्त्रवादी खहरे हुन्, कहिले सुसाउँछन्, कहिले सुक्छन् । कम्युनिष्टको पुच्छर बनेर भए पनि यिनलाई पैसा चाहिएको छ ।
समष्टिमा नेपाली राजनीति जुका राजनीति हो । जुका दुहुनु गाईको कल्चौंडो मै पुग्यो भने पनि चुस्ने रगत नै हो । हरेक पार्टीका नेताहरु देश र देशवासीको रगत चुसेर लोकतन्त्रको भजन गाइरहेको छ । भजने भाट र किर्तने पापीहरुबाट बैकुण्ठको आश गर्नु सपना हो ।
हामी बडामहाराज पृथ्वीनारायण शाह जिन्दावाद भन्न सक्दैनौं, नेपाल निर्माताको सालिक तोडफोड गर्छौं ।

बुद्ध नेपाल, शान्त नेपाल, स्वाधीन नेपाल, सगरमाथा नेपाल, हाम्रो नेपाल बनाउने सोच मदन भण्डारीमा थियो । उनलाई दासढुंगाबाट खसालेर मारियो, २६ वर्ष भयो, उनकी श्रीमती राष्ट्रपति बनेर पनि बोलिनन् । नेपाली कम्युनिष्टहरु देशभन्दा शक्ति र सम्पत्तिलाई महत्व दिन्छन् भन्ने उदाहरण हो यो ।
दरवार हत्याकाण्ड भयो, ग्य्राण्ड डिजाइन देख्ने कांग्रेस बोलेन । यी कस्ता माओ, माक्र्स, स्टालिन र वीपीका अनुयायी हुन् ? नागरिक निकासी र स्मग्लिङ गरेर भ्रष्टाचारको साम्राज्य चलाइरहेका रहेछन् । यो राजनीतिक अपराध हो । यसको पुरै पर्दा खुल्यो भने के होला ?
एकीकरण थाल्दा पृथ्वीनारायण शाह २० वर्षका थिए । इच्छाशक्ति थियो र उनले नेपालको एकीकरण सम्पन्न गरे । त्यो दुःखले आज्र्याको स्वतन्त्र नेपाललाई यिनै दलहरुले अघोषित पराधीनताको चक्रव्यूहमा पारिसके ।

बहुदल आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, देशको स्वाधीनतामाथि विदेशतन्त्र हावी गराए । नेपाललाई गरीवीको हाटबजार बनाए, हाम्रा नेताहरु गरिबीलाई गरिब, बेरोजगार थोकमा बेच्ने फौबञ्जार बन्न अग्रसर भए । नेताहरु यसैलाई राजनीतिक सफलता भनिरहेछन्, यथार्थमा यो तर्साउने मूर्दा राजनीति हो ।
राणाकालमा तिहारमा जुवा फुक्थ्यो र दिव्यदेव चमत्कारिक कौडा हान्थे र भूपदेव हिसाव राख्थे । महाभारतको द्युतमा सकुनीले जस्तै जालसाजपूर्ण कौडा हान्थे दिव्यदेव । २०६३ सालपछि नेपाली राजनीतिमा सकुनी जुवा चलिरहेछ । विदेशीको व्यूहरचना र चक्लाबन्दीमा राष्ट्रियताको चौबन्दी च्यात्ने काम तीब्र गतिमा जारी छ । नेपालजस्तो कुवेरका सन्तान भीख बिक्री हुने र माँग्ने दिन भोगिरहेका छन् । दैत्यगुरु शुक्राचार्य पनि लज्जाबोध गर्नुपर्ने राक्षसी ज्यादतिपूर्ण राजनीतिका कारण रेडलाइट इलाका बन्यो नेपाल । नेताहरुले भनेकै हुन्– नयाँ नेपाल बनाउँछौं । ०४६ पछिको ३६ वर्ष, ०६३ पछिको १६ वर्ष हरेक नेताका अनुहार खलनायकसँग मेल खान्छ । नेता अरवी शेखजस्ता, नागरिक तिनका दासजस्ता । यसकारण त नेताहरुले मानव तस्करी गर्नुलाई लोकतन्त्र भनेर झुक्याइरहेका छन् ।
०५२ सालदेखिको १० वर्षे जनयुद्धले गरिब मा¥यो, समाज मा¥यो, राष्ट्र मा¥यो भनेको त अहिले आएर पोल खुल्यो, स्वाभिमान पनि मारेछ । प्रजातन्त्रवादीको समेत नाकै काटिएको दृश्य सबैले देख्न थालेका छन् । भ्रष्टाचारको भाङमा लठ्ठै परेको लोकतन्त्र भासिएर भ्वाङ परिसकेछ । परिवर्तनपछिको यस्तो दुर्गति र दुर्नामको जिम्मा लिन तैयार छन् कुनै नेता ?
जापानले लुम्बिनीलाई जोड्दै बौद्धतीर्थहरु सारनाथ (धर्मचक्रवर्तन), राजगृह, नालन्दा (बौद्ध शिक्षालय), बुद्धगया (बोधीज्ञान), कुसीनगर (महापरिनिर्माण) जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव ग¥यो, हाम्रा नेताहरु दिल्लीतिर हेरेर टोलाइरहेछन् धेरैवर्षदेखि । भारत राम करिडोरसम्मको योजना बनाइरहको छ । चीन सिल्करोड, टीहर्स रोडको आधुनिकीकरण गरेर बीआरआई योजना सफल पार्र्न अघि बढेको छ । विश्वशक्ति नेपालको भूराजनीतिक महत्व बुझेर नेपाल प्रवेश गरिसक्यो । हाम्रा अल्छी शासक प्रशासकहरु अर्काले रणनीतिक चारा हालेर फ्याँकेको बल्छीमा पर्दै गएका छन्ं, अवसर छोप्ने ल्याकत देखाउन सकेनन् ।
हिजो हामी वीर थियौं, स्वाधीनताका लागि लड्न जानेका थियौं । आज हामी दलाल बनेका छौं, लड्न होइन, दलाली खाएर मर्न तैयार भइरहेछौं । यसरी कति दिन बाँच्छ नेपाल ? लोकतान्त्रिक सिन्धुमा नेपालीत्वको विन्दूको पाइन चढाउने अवसर गुमाए राजनीतिलाई व्यापार बनाउने नेताहरुले ?

footer