kumari
stcnepal

भारतको कर्नाटक राज्यमा कंग्रेस बहुमत नजिक, भारतीय जनता पार्टी पराजित हुने सम्भावना

कर्नाटकामा बुधबार सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ। शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ। मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतकाे सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ।

हालसम्म सत्तारूढ भारतीय जनता पार्टी ७९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
जनता दल सेकुलर (जेडिएस) ले २५ क्षेत्रमा अग्रता लिएको छ। मतगणनाको ताजा विवरणअनुसार भाजपा २०१८ को निर्वाचनमा जितेको २५ निर्वाचन क्षेत्रमा यसपालि पछि परेको छ भने कंग्रेसले अघिल्लो निर्वाचनमा हारेका ३९ निर्वाचन क्षेत्रमा यसपटक अग्रता लिइरहेको छ। भारतका विभिन्न सञ्चारमाध्यमहरूले गरेको एक्जिट पोलहरूले यसपालि कर्नाटकामा भारतीय जनता पार्टीलाई पाखा लगाउँदै कंग्रेस आइले बहुमतको सरकार बनाउने विवरण सार्वजनिक गरेका थिए।

अहिलेसम्मको मतगणनालाई नियाल्दा ती एक्जिट पोलहरूले सार्वजनिक गरे अनुसार नै कंग्रेस आइ बहुमततर्फ अग्रसर देखिएको छ।मतगणनाको अन्तिम परिणाम आज दिउँसोसम्म आइसक्ने बताइएको छ। कर्नाटका यस्तो राज्य हो जहाँ सन् १९७० पछि कुनै पनि पार्टीले लगातार दुई वटा चुनावमा बहुमत ल्याउन सकेका छैनन्। कर्नाटका नै यस्तो राज्य हो जहाँ पाँच वर्षअघि पहिलो पटक भारतीय जनता पार्टीले आफ्नो सरकार बनाएको थियो।

हिन्दुत्वको नाराले उत्तरी भारतमा लोकप्रियता कमाएको भाजपा दक्षिणी भारतका अरू राज्यहरूमा भने सरकार बनाउन सकेको छैन।सन् २०१८ को चुनावपछि सबैभन्दा ठूलो दल बनेपछि भाजपाले कर्नाटकामा आफ्नो नेतृत्वमा सरकार बनाएको थियो। त्यतिबेला कुनै पनि पार्टीको बहुमत आएको थिएन। भाजपाले २२४ मध्ये १०४ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपाका बासभराज बोम्माई मुख्यमन्त्री बनेका थिए।

footer