kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौ जिल्ला अदालतमा मुद्धा दर्ता, ४ वटा कसुर लगाईयो

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जसअनुसार अभियुक्तहरु विरुद्ध ठगी, कीर्ते, संगठित र राज्य विरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । यस्तै २७ करोड २१ लाख बिगो माग गरिएको छ । यसअघि सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिव सहितका १६ जना पक्राउ परेका छन् । अरू थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको थियो । शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

footer