kumari
stcnepal

सेनाको चुस्तामा राजनीतिक चस्का छैन, बाध्य नपार

 

राजन कार्की
यो नेपाली शीर उचाली… यस्तो हुनुपथ्र्यो राष्ट्रिय गान । प्रत्येक नागरिकलाई राष्ट्रप्रति उत्साह जगाउने, साहस बढाउने, राष्ट्रभक्तिका लागि रतग उमाल्ने पो राष्ट्रिय गान हुन्छ ।
भक्ति थापा बाघ, अमरसिंहजस्ता जिउँदो सिंह भएको मुलुकमा नेतृत्व ब्वाँसोजस्ता पो निस्किए । देश बोकेनन्, जनतालाई संगठित र साहसी बनाएनन् । आफै जो घृणापात्र बने, त्यस्ता नेताले देशको भार, जनताको अपेक्षा बोक्ने सवालै थिएन । नेपाली जाति वीर थिए, भ्रष्ट भनेर पो चिनिए ।
हुनेत नेपाली जातिको पहिचान नैतिकहीन, धर्महीन राजनीतिले मासेर मासिन्न । तर यतिबेला नेपाल राष्ट्रको अवस्था ओल्लो तीर न पल्लो किनारजस्तो छ । यो नेतृत्वको असफलताको सराप मोचन छिटै हुने आशा गरौं किनकि नागरिक जाग्न थालेका छन् ।
अन्तिम शक्ति सेना हो, छ । सेनाले पनि जनताको आकांक्षा र देशको आवश्यकतालाई अध्ययन गरिरहेको छ । विश्व शान्तिमा अग्रणी भूमिका निर्वाह गरिरहेको नेपाली सेना कायर होइन । संविधानले बाँधेको छ, देशै विचलन हुँदा बाँधिएर बस्नेछैन भन्ने विश्वास गरौं ।
नेपाली सेनाको इतिहास त बहादुर र बहादुरीको अनेक दृष्टान्तहरूका चम्किलो गौरवगाथा बोकेको संस्था हो । यो संस्थालाई स्वार्थको बशमा परेको राजनीतिले अझै बुझिसकेको छैन । जब सेनाले अन्तिम शक्ति देखिने बेला भयो भनेर बुझ्नेछ, त्यतिबेला सेना र नेपाली जनताले यो देशलाई थाम्नेछन्, अकर्मण्य र स्वार्थी नेताको पछि लाग्नेछैनन् । जुन भ्रष्ट राजनीति छ, त्यो स्वतः पाखा लाग्नेछ, दण्डित हुनेछ, नालीलाई राजनीतिक सफलता मान्नेहरु नालीमै गाडिनेछन् ।
शासन राजनीतिले गर्ने हो, सेनाको काम अन्तिम सुरक्षाको जिम्मा हो । सेना जति देशमैत्री बन्यो, उति देश दरिलो र भरिलो हुन्छ । सेनालाई समाजमैत्री बनाउने जिम्मेवारी राजनीतिमा बढी हुन्छ । विज्ञहरू भन्छन्– सेना र समग्र समाज, सेनाको नेतृत्वतह र गैरसैनिक विशिष्ट बर्ग तथा सैनिक अधिकारी र राजनीतिकर्मीहरूवीचको सुसम्बन्धमा सुरक्षा, आत्मसम्मान, सुशासन झल्किनुपर्छ, झल्किन्छ । राजनीतिक नेतृत्वलाई लागेको होला सेना डगमगाएको छ । सेनालाई प्रहरीलाई जस्तै राजनीतिकरण गरिनेछ । यो गलत हो, सेना सेना हो । मौन बस्दा सजाएको गमला जस्तो, जब जाग्छ, त्यतिबेला आगो हो । डाम्नेछ । सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक असफलताले गाँज्दै लगेकाले बिस्तारै सेनाको भूमिका संवैधानिक धुमिलताबाट प्रष्टिदै गएको अनुभूत हुन्छ ।
नेपालका सन्दर्भमा सेनाले जनता बुझेको छ, देश उसको छातीमै धड्किन्छ । त्यसैले उसको मूल मन्त्र जनताको नमकको सोझो हो । जनताले बुझेको सेना सुरक्षाको प्रत्याभूति हो, तर राजनीतिले बुझेको सेना र सेनाले बुझेको राजनीतिका कारण विवाद छ र त्यो विवादले निम्त्याउने परिणामको छेउटुप्पो कसैले बुझेको छैन । जब सेनाले बुझेको राजनीति योभन्दा पनि असफल हुनेछ, तब सेनाले जनतासँग मिलेर देश जुरुक्कै बोक्नेछ ।
२०६३ को परिवर्तनपछि रणनीतिक अभिष्ठ पाल्ने अतिवादीसहितका नेताका कारण सेनालाई भात्रृसंगठनजस्तो, हवल्दार बनाउने कसरत र बिखण्डनकारी शक्तिले नष्टभ्रष्ट पार्ने प्रयास आज पनि छाडेका छैनन् । यो त सेनाको बुद्धिमत्तापूर्ण कार्यले सेनालाई आफ्नै व्यवसायिक र बिशिष्टकरणमा पर्वतजस्तै अडिग राख्न सफल भएको छ । सगरमाथाको देशको सुरक्षा मैनाक पर्वतको नाम हो– नेपाली सेना ।
नेपाली सेना व्यवसायिक सेना हो । सेनाभित्र हरेक प्रकारका तालिम हासिल गरेको ज्ञान छ नै, साथै सैनिकको दृष्टि पुग्नुपर्ने हरेक मुद्दामा सैनिकका साथै प्राज्ञिक दृष्टिले पनि विश्लेषण र व्यवहार भइरहेकै छ । नेपाली सेनामा परिपक्व प्राज्ञिकताको पाइन बढी देखिन्छ ।
समस्या भ्रष्ट र सिद्धान्तहीन राजनीतिमा छ । राष्ट्रघात गर्न तम्सिने राजनीतिक नेतृत्वमा छ । राजनीतिले सेनालाई हेर्ने दृष्टिमा दोष छ । जनताले सेनालाई हेर्ने र सेनाले जनतालाई हेर्ने दृष्टिकोणमा समस्या छैन, समस्या छ भने बेला बेलामा सेनाका बारेमा अविश्वासको वातावरण जन्माउने र अनेकन संशय प्रकट गर्ने राजनीतिमा छ । कानुन व्यवस्था चलाउन नसक्नेले सेनालाई विवादमा तान्ने राजनीति अथवा अतिवादी सोचले सुरक्षा कमजोर भएको हो । सेनालाई कसरी परिचालन गर्ने सल्लाहकार, नागरिक समाज, बुद्धिजीवीहरूले नीति निर्माता र सरकारलाई सुझाव दिनुपर्छ, परेका ठाउँमा दबाब पनि दिनुपर्छ । यो बर्ग सचेत छ, विवेकी पनि छ तर दलपति रिसाउँछन् भनेर मौन बसेका छन् । मौनताले समस्या बढाएको छ । असल नागरिकको जिम्मेवारीप्रतिको उदासिनता बढी छ ।
सेनाले के गर्नुपर्ने हो ? यसबारेमा संसदमा बहस हुनुपर्छ । नागरिक समाजमा बहस गर्नुपर्छ । सेनालाई दोष देखाउने होइन, फोहर राजनीतिमा लुटपुटिने थिङ्कटेङ्कमा समस्या छ । राज्य सञ्जालदेखि न्यायालयसम्म राजनीतिकरण गरेर भ्रष्टिकरण गर्नु ठूलो समस्या हो । सेनालाई विवादमा होइन, उसको कर्तव्यपथमा लाग्ने प्रेरित गरेर नैतिक समर्थन गर्नुपर्छ । किनकि नागरिकका सन्तान हुन् सेना । देशको सन्तान हुन् सेना । सेनाको दायित्व हो, देश र नागरिकप्रतिको उत्तरदायित्व ।
राजनीतिको पाइला डगमगाएको छ । नेपाली सेनाको पाइला कहिल्यै डगमगाएको देखिन्न । सेनालाई दिएको कुनै जिम्मेवारी सेनाले पूरा गरेको छ भने थप के के गर्नुपर्ने हो त्यो समस्या सेनाको होइन, सेनालाई परिचालन गर्ने विधिको हो । विधि निर्माता जनप्रतिनिधि हुन्, विधि निर्माताले सेनालाई संविधानमार्फत चल्ने भनिसकेपछि संविधानको सीमाभित्र पनि सैनिक गतिविधिलाई थिचोमितो किन गर्छ राजनीति ? सेना नेपालको हो, सेना नेपालीको हो भने सेनालाई नैतिक समर्थन गर्नु र सैनिक मनोवल उच्च राख्न भूमिका खेल्नु राजनीतिको कर्तव्य हुनआउँछ । सेनाको नैतिक बल बढ्दा शान्ति व्यवस्था नै मजबुत हुन्छ भन्ने बुझ्नुर्छ । आफू कर्तव्यच्यूत हुने, कर्तव्यमा खरो रूपमा घोटिइरहेको सेनामाथि अनावश्यक शंका र प्रश्न गर्नुले राजनीतिक दलहरूको राष्ट्रिय जिम्मेवारप्रति नै प्रश्न उठेन र ?
हुन त संविधान कागजको खोस्टो भइसक्यो । संविधानका सीमामा, गरिमा र महिमामा कुनै जनप्रतिनिधि बसेको छैन । राज्य सञ्जालका जिम्मेवारहरु रहेका छैनन् । यो अवस्था अझ बिग्रियो भने सेनाले पनि संविधानको सीमा मिचेर देश र जनताका लागि अगाडि सर्नुपर्ने अवस्था आउनसक्छ ।
इतिहास हेरे हुन्छ, राजनीतिक बर्ग इमानदार छ भने सेना त्यो इमानमा जतिसुकै पाइन हालेर चम्काउन तैयार रहेको इतिहास साक्षी छ । आफ्ना असफलताका अपजस सेनामाथि थोपर्ने र सेनालाई अनावश्यक रूपमा लाञ्छित गर्नु राजनीतिक समुदाय र बुद्धिजीवीहरूको बेइमानी हो । बेला बेलामा उठ्ने यस्ता राजनीतिक नीतिप्रति सेनालाई गम्भीर भएर सोच्न बाध्य पार्छ । यद्यपि नेपाली सेनाको विशेषता के छ भने सेनाले लगाएको चुस्तामा राजनीतिमा चस्का देखिएको छैन । राजनीति पार्टीहरूले नै गर्ने हो, सेनाको काम सुरक्षा नै हो भने नेपाली सेना आफ्नो दायित्व बुझेर चलेको छ, यसमा राजनीतिक पार्टीहरूले गौरव गर्नुपर्छ । थप जिम्मेवारी नागरिक अपेक्षा हो भने त्यो जिम्मेवारी नागरिक प्रतिनिधिहरूले संविधानमार्फत दिनुपर्छ । सेनाले राज्यसञ्जाल र सञ्चालनमा आवश्यक परामर्श, टेको दिने, आवश्यक सैनिक कारवाही र त्यसको परिणामको जानकारी गराउने, संविधानअनुसारका राजनीतिक क्रियाकलाप जो सैनिक दायरामा पर्छन्, तिनलाई कार्यान्वयन गर्ने हो । सैनिकले गर्नैपर्ने यी कार्यहरू बखुवी निर्वाह गरिरहेको छ । यसमा प्रश्न गर्ने ठाउँ देखिदैन । समस्या के छ भने सर्वसम्मतिबाट निर्मित राष्ट्रिय नीति छैन, हरेक नेता र बर्गसमुदाय आ–आफ्ना तरिकाले राष्ट्रियताको परिभाषा दिइरहेका भेटिन्छन् । राष्ट्रिय स्वार्थ यसरी असहाय नबनोस्, नबनाइयोस् भनेर नेपाली सेना सदैव सतर्क सजग देखिन्छ । राष्ट्रिय स्वार्थको भाषा मौन र कमजोर भए पनि राष्ट्रियता कमजोर छैन भन्ने सन्देश सेनाले बेला बेलामा प्रवाह गरिरहेको छ । नबुझ्नु अथवा बुझे पनि नबुझेजस्तो गर्नु राजनीतिक र सचेत समुदायको कमजोरी हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– सत्यका लागि त्याग गर्न सक्नेहरू वीर हुन् । जनताको नमक खाएको नेपाली सेना जहिले पनि सत्यका लागि, संविधानका लागि आफूलाई जस्तोसुकै जोखिममा राख्न तत्पर संस्था हो । भनिन्छ, विश्राम आलस्यले भरिएको मादक पदार्थको कचौरा हो । राज्यका सबै सञ्जाल, व्यक्ति अथवा संस्थाहरू विश्राम गर्छन्, गरेको देखिन्छ तर नेपाली सेनामात्र यस्तो व्यवसायिक संस्था हो, जो चौबिसै घण्टा घडीजसरी चलायमान छ, अविश्राम उसको सैनिक यात्रा जारी छ । जारी रहनेछ । देश र जनता सेनाका दुई नजर हुन् ।
१६१६ मा लिगलिगे शासनबाट सुरू भएको नेपाली सेनाको इतिहास आज पनि निरन्तर जारी छ । माटोप्रति उत्तरदायी छ । कुनै पनि कालखण्डमा सेनाले राष्ट्रघात गरेको कुनै कलंक भेटिदैन । सैनिक मुख्यालयको ढोकामा ठड्याइएको नेपाल निर्माताको सालिकले सेनालाई राष्ट्रप्रति पल पल जिम्मेवार बनाइरहेकै छ । नेपालका सन्दर्भमा सेना भनेको कलम हो, आवाज पनि हो, भावना पनि हो, निर्माण हो, सुरक्षा हो, तरवार पनि हो ।
इजरायली प्रधानमन्त्री रवीन र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलजस्ता नेताहरू नेपालमा जन्मिन सकेनन् । जनआन्दोलनताका जो जो नेताहरू सगरमाथाजस्ता अग्ला थिए, अहिले सबै आफ्नै स्वार्थका कारण खाल्डाखुल्डी बनिसकेका छन् । असहाय नेपाली र नेपालको सुरक्षाको पहरेदार बनेको सेनाले अग्ला, विश्वासिला, इमान र नैतिकवान नेताको प्रतिक्षा गरिरहेको छ । जो जनतासँग रगत पसिना साटुन्, दुःखसुख बाँडुन् र समाजको आँखामा नबिझाउने गरी बसुन् ।
सेनाको चुस्तामा राजनीतिक चस्का कहिले देखिएन । सेनालाई व्यवसायिकताकै थान्कोमा राखौं, हतियार उठाउन बाध्य नपारौं । शासन प्रशासन चलाउनेहरूलाई चेतना भया ।

footer