kumari
stcnepal

चिनी ,चामल र धान नेपाललाई बिक्रि गर्न भारतलाई नेपालले पठायो पत्र

काठमाडौँ । सरकारले चाडपर्वका बेला चिनी तथा खाद्यवस्तुको अभाव हुन नदिन भारतसँग खरिदका लागि पत्राचार गरेको छ । चाडपर्वका बेला चिनीको माग बढी हुने भएकोले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी खरिदका लागि पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै खरिद प्रक्रिया अघि बढेको बताएका हुन् । भारतसँग चिनीका साथै चामल १ लाख मेट्रिक टन र धान १० लाख मेट्रिक टन खरिदका लागि पत्राचार गरेको जानकारी दिए । चामल भन्दा धान खरिद गर्दा नेपालका राइस मिलहरूमा रोजगारी बढ्ने भएकोले चामलभन्दा धेरै धान मागिएको उनले बताए ।

भारतले जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको भन्ने अनौपचारिक जानकारी दिएको उनले बताए । सचिव मरासिनीले भने– ‘हामीले ५० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान खरिदका लागि भारतलाई पत्राचार गरेका छौँ । त्यसको औपचारिक जवाफ कुरिरहेका छौँ । समयमा उपलब्ध गराउनका लागि हामीले ताकेता पनि गरिरहेका छौँ ।’

यस्तै बजारमा मूल्य नियन्त्रण गर्नका लागि भारतसँग खरिद गर्ने खाद्यवस्तुको भन्सार कर छुट गराउनका लागि प्रयास गरेको बताए । २० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिक टन साल्ट टेडिङले र १० हजार मेट्रिक टन खाद्य व्यवस्था कम्पनीले खरिद गर्ने सहमति भएको जानकारी दिए । २० प्रतिशत भन्सार छुट गरेर चिनी खरिद गरेर ल्याउँदा प्रतिकिलोमा १२ रुपैयाँ सस्तो पर्ने उनले बताए । यसले गर्दा बजारलाई सन्तुलन गराउन सहयोग पुग्ने बताए ।

footer