फुटपाथ व्यापारीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गइरहेको छ । उनलाई समर्थन गर्न सडक व्यापारीदेखि नेतासम्म पुगेका छन् ।
‘ई’को पक्षमा मंगलवार बिहानदेखि नै मानिसहरूले ऐक्यबद्धता जनाइरहेका छन् । अहिले सडक व्यापारी आएर राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका छन् ।यसअघि नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले ‘ई’को आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
भावना राउत लगायतका अभियन्ता समेत ‘ई’को आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् । यसअघि ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल राष्ट्रिय सभागृहअगाडि पुगेकी थिइन् । मंगलवार बिहान सभागृहअगाडि पुगेर उनले ‘ई’को स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् ।
भेटका क्रममा उपमेयर डंगोलले फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने बताएको महानगर स्रोतले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथ व्यवसायी र काठमाडौं महानगरपालिका बीचको समस्या वार्ताबाट समाधान हुने आशा व्यक्त गरेका छन् । महानगरकी उपमेयर डंगोलले फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’लाई भेटेको विषयलाई लिएर उनले सामाजिक सञ्जालमार्फत यस्तो आशा व्यक्त गरेका हुन् ।