kumari
stcnepal

प्राकृतिकपछि मंसिर ७ मा राजनीतिक भइँचालो

 

राजन कार्की
यो व्यवस्थाप्रति जनअविश्वास बढ्यो । भूकम्प, कोराना, बाढीपहिरोमा राज्य र पार्टी पीडित भएका जनता यतिबेला भूकम्पको पीडामा पनि राज्यविभेदमा परेका छन् । माओवादीको मुख्य थलो रोल्पाकेन्द्रित भूकम्पले जनजीवन ध्वस्त पार्दासमेत सत्तारुढ दलले विभेदकारी रुपमा राहत बितरण गर्दा जनताले नाराबाजी गर्नुपरेको छ ।
महिला, सुत्केरी, बालबालिका उच्च जोखिममा पर्दा विदेशीले दिएको एउटा त्रिपालसम्म पनि जनताले पाएनन् । महामारी फैलिसकेको छ । नाना, खाना, छानाविहीन भएका पश्चिम पहाडी भेगका जनता यतिबेला चिसो रुखमुनी सुत्न बाध्य भएका छन् ।
हिजोको स्थिति थियो– गाउँसम्म मेडिकल पसलहरू फैलिएका छन् । त्यहाँ डाक्टर नभए पनि कम्पाउण्डर अर्थात काम गर्दा गर्दा जानेका अनुभवीहरू उपचार गरेर बसेका छन् र सानो ठूलो जस्तो रोग लागे पनि स्थानीय नागरिक पहिले जाने त्यहीँ त्यही हो । दाँत वा पेट दुखे पनि, ज्वरो वा बान्ता भए पनि, जे भए पनि मेडिकल जानासाथ उसले ओखती दिन्छ, साथमा टनिक पनि भिडाउँछ । कारण ओखतीभन्दा टनिक महँगो र टनिकमा बढी फाइदा हुने रहेछ । धेरै निको हुन्छन्, कतिपय त्यही ओखतीले असाध्य रोग बल्झेर खतीमा पर्छन् । कतिले ज्यानैसमेत गुमाउँछन् । यो दूरदराजको नियमितता हो, दुर्भाग्य हो । किनकि सरकार सहरमा छ, गाउँ त चुनावी नारा न हो ।
अस्पताल नजिक होस्, अस्पताल सर्वसुलभ र डाक्टर जुनसुकै बेला भेटियोस् । अस्पताल पुगेर सहज उपचार पाइयोस् । कसैले बाटोमै उपचार नपाएर, सुत्केरी हुनुपरेर मर्नु नपरोस् । यो हरेककोे सपना हो । अस्पताल पुग्न राजधानीका जस्ता अस्तव्यस्त सडक नहोस् । अस्पताल लगेको विरामी जाममा फसेर एम्बुलेन्समै मर्नु नपरोस् । राजनीतिका नारा कहाँ सफल हुन्छन् र ? जब नेताहरू नैतिकता गुमाउँछन्, राजनीतिलाई व्यापार बनाउँछन्, त्यहाँ हरेक कुरा विक्रीमा हुन्छ, बिकाउ हुन्छ ।
आज जनता डरैडरमा छन् । कुनबेला कसले लुट्छ थाहै हुन्न । लोकतन्त्र बाहुबलीतन्त्र बनेको छ । न्याय अन्यायको छ्यानब्यान गर्ने कोही छैन ।
नेपाल, हुन त मान्छे निकासी गरेर चल्ने देश हो नेपाल । जब मान्छे बेच्न शासन प्रशासन ज्यान फालेर लाग्छन्, त्यस्तो देश भनेको लोकतन्त्र होइन, हाटबजार हो । हाटबजारमा जे हुन्छ मोलमलाई हुन्छ, जे पनि बिक्री हुन्छ ।
यस्तो गैरजिम्मेवार सरकार नहोस्, ज्यानमारा राज्यनीति नहोस्, जवाफदेही लिने सरकार होस् । यस्तो सपना तुहियो । लोकतन्त्रमा लोक मार्नेलाई छुट छ । राजनीतिमा झूट नै झूट छ । सत्य केही पनि छैन । कतै पनि न्याय र समानता छैन ।
के गर्ने देशमा शिक्षा, स्वास्थ्यलगायतका सामान्य आवश्यकताका क्षेत्रमा माफियाकै हैकम छ । बजारदेखि सिंहदरवारसम्म अपराधिकरण, सेटिङ छ, कमिशनकै चलखेल छ । कि त माफियाले भनेजति पैसा दिन सक्नुप¥यो, कि विदेशतिर हुइँकिनु प¥यो । नागरिकका लागि सरकार छ नै कहाँ र ? सरकार त विदेशीका लागि, अपराधकर्म गर्नेका पछि पछि लागेको छ ।
यो व्यवस्थाले भान्छा भान्छासम्म ग्यासको सपना देखाएको थियो । काठमाडौंसम्म केरूङ र रक्सौलबाट रेल जोड्छु भनेको थियो । राजधानीमा मेट्रो चलाउँछु भनेकै हो । हावाबाट बिजुली निकाल्छु सबैकुरा सर्वसुलभ पार्छु भनेको थियो । थानकोटबाट काभ्रे हुँदै सिन्धुपाल्चोकसम्म मेट्रो चल्छ रे । सात वर्षदेखि सडक साइकल चल्न नसक्ने स्थितिमा छ, एक सरकारबाट ७ सय ६१ सरकार बनेका छन् । यी सरकारहरूमा मन्त्री, सचिव, सहायकदेखि पार्टीका आउरेबाउरेको लामवद्ध मान्छेहरू जनता निचारेर कर अशुल गर्दै खाँदैछन् । जुकाले रगत चुसेजसरी जनता चुसेर ढाडिएका जुकाले चुस्दिन भन्दैन, प्रजातान्त्रिक–कम्युनिष्ट सरकारमा पुँजीवादी शोषणको पराकाष्ठा नाघिसकेको छ ।
लोकतन्त्रको यस्तो लाखेनाच ?
जनप्रतिनिधि, हाम्रो सरकार, हाम्रो संविधान, हाम्रोे लोकतान्त्रिक गणतन्त्रको बौलाह चरीत्र देखेर देश छक्क छ, जनता छक्क परेका छन् । हामी सामान्य सपना पूरा होस् भनिरहेका छौं, नेतृत्व आफ्नै स्वार्थको बन्दी बनेको छ । स्वर्गै दिन्छु भन्ने सपना देखाइरहेको छ । जनता कम्पाउण्डरले ओखतीभन्दा बढी टनिक बेचेजस्तो र टनिक किन्न बाध्य पारिएको बिरामीजस्ता हामी लोक गणराज्य देखेर शोषित पीडित छौ ।
प्रधानमन्त्री भन्छन्– अग्रगमनलाई प्रतिगमनले परास्त गर्ने खतरा छ ।
यथार्थमा यी अग्रगमनकारी नै प्रतिगमन चरित्र देखाइरहेका छन् । सुशासन र समृद्धिको आधार सिध्याइरहेका छन् । यस्तै कार्यलाई अग्रगमनकारी भन्नेले सत्ता चलाइरहेका छन् । पश्चगमनको भ्रम शायद कम्युनिष्टको राजनीति गर्ने अचुक उपाय हो । यस्तै अचुक उपायको प्रजातन्त्रवादी सती गइरहेछ ।
जनयुद्धकालमा जे रोजे त्यही पाइन्छ भनेर बन्दुक बोकाइयो । मर्ने मरे, बाँच्ने पहुँचवाला सत्ता र शक्तिमा पुगे, नसक्ने अयोग्य भए, कोही खाडी गए, कोही यतै ढलापडा छन् । कतिपय युवतीहरू राजमार्गमा यौवन बेचेर बालबचेरा पालिरहेका छन् । सपना भनेको देखाउनेलाई सपार्ने रहेछ । देख्ने सधैं सपना देखेर बाँच्नु न मर्नुपर्ने छटपटीमा हुँदा रहेछन् । नेपालमा जे भइरहेको छ, अहिले यस्तै भइरहेछ । पीडक सत्तामा छ, शक्तिमा छ, पीडित सडकमा आँसु झारेर रोइरहेको छ ।
असमानता हटाउन, भेदभाव र बिभेद मास्न, समृद्धिको साम्राज्य सिर्जना गर्न निरंकूशता फालौं भनेर जनतालाई घरघरबाट सडकमा आउनै वातावरण बन्यो । परिवर्तन भयो । राजा झुके, मरेको संसद ब्यूँतियो । संसद ब्यूँँतियो कि भ्रष्टाचारी अतिवादी भूत ? अहिले आएर सबै रनभुल्लमा छन् । किनभने त्यही संसदबाट संविधानसभा जन्म्यो, संविधानसभाले राजा फालेर महाराजाको उत्पत्ति गरायो, संविधान जारी भो, बिभेद बढ्यो, समानता आएन । दुईपटकको आवधिक निर्वाचन भइसक्यो, निर्वाचनले केही दिएन । जनताका लागि लोकतन्त्र कौवालाई बेल पाकेभन्दा बढी भयो । पश्चतापले सडक तातेको छ, जनता आहत बेहोरिरहेछन् । परिवर्तन आयो त तिनै परिवर्तनका नेतृत्व गर्नेहरूलाई आयो । तिनकै रजगज चलेको छ, तिनीहरू नै आधुनिक श्री ३ महाराज बनेका छन् । जनता हिजो अन्यायमा थिए, आज महाअन्यायमा परेका छन् ।
अभिभावक विहीन देश लथालिङ्ग अवस्थमा छ ।
अव त देशै अभरमा परेको छ । देशको जिम्मेवारी लिनेसमेत कोही भएन । राजधानीमा हरेक दिन अन्याय विरूद्ध आवाज उठिरहेका छन् । न सरकारले सुन्छ, न न्यायदिने कुनै निकाय नै बोल्छ । नागरिक समाज देशको वास्तविक नक्सा माँगिरहेको छ । भएछ के भने लोकतान्त्रिक नेताहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारेर राष्ट्रको नक्सा नै फेरिसकेछन् । गणतन्त्रले गरेन त कमाल ? आलोपालो कम्युनिष्ट, कांग्रेस, सेटिङ सरकारले समृद्धि र सुशासनको सपना देखाए । काम चाहिं अनैतिकताको पराकाष्ठा नाघेर गरिरहेका छन् । राष्ट्रघात, जनघातको दण्ड दिने निकाय सक्षम देखिएन ।
१७ वर्षदेखि पेण्डोराको बाकस खुलेझैं खाली भ्रष्टाचार र ठेकेदारहरूको पोलखोल पो भइरहेछ । कमिशन र सुनकाण्डहरूबाट अव त बलात्कारी र हत्याराका श्रृंखलाहरू पो बढ्न थाले । देश र समाज अराजकताको आगोमा झुल्सिन पुगेको छ । समाज अव्यवस्थित हुँदै गएको छ ।
राजनीतिको अपराधिकरण, अपराधिकरणको राजनीतिकरणमा डुबेका प्रधानमन्त्री पटक पटक चिच्याउँछन्– ५ वर्ष यो गठबन्धन कसैले हल्लाउन सक्दैन ।
लगभग वर्षदिन भयो सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्यो, प्रतिपक्षीलाई डाम्यो, आफ्नालाई बचायो । फाइल बन्द भयो । सस्तो प्रचारवाजी, सस्तो लोकप्रियतावादी यो नाटक हो ? निश्चित रूपमा सरकारको हातमा जादूको छडी हुन्न तर सुरूआत प्रशंसनीय हुनुपर्छ, योजनावद्ध हुनुपर्छ, केही पनि छैन । यसकारण संघीय र प्रदेश सरकार दुबैतिर अस्थिरता छ, अराजकता छ । देश बर्बादी गर्ने काम दुबैबाट भएको छ । स्थिरता दिन सहमतिको राजनीति गर्नुपर्ने हो, यतातिरको ध्यान कसैमा देखिदैन ।
असन्तुष्टि जनतामा बढेको छ । सन्तुष्टि पार्टीहरूभित्र पनि छैन । सहमतिको राजनीति गरेर स्थिरता ल्याउनेछन् भन्ने आशा तुहिसक्यो ।
अब मंसिर ७ गते जनविद्रोहको बिगुल फुकिएको छ, होला त व्यवस्था परिवर्तन ? सबैतिर यही चासो छ ।

 

footer