kumari
stcnepal

थाइल्याण्डका राजाले पूर्व प्रधानमन्त्री थाक्सिन लाई दिए आममाफी

थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा हजारौं व्यक्तिसँगै ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रालाई पनि आममाफी दिएको एएफपीले जनाएको छ ।

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।​थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताए । थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केका थिए । फर्केलगत्तै उनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

थाई संसद्ले शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । उनी राज्यको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् र आफ्ना बुबा र फुपु यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारका तेस्रो सदस्य हुन् । राज्यको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई प्रधानमन्त्री बनाइएको हो ।

footer