kumari
stcnepal

नेपालमा ५८ देशको लगानी, कस्को कति ?

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–०८०’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्धारा आज सार्वजनिक प्रतिवेदनमा नेपालमा ५८ वटा देशको प्रत्यक्ष विदेशी लगानी रहेको उल्लेख छ ।

उक्त लगानी गत वर्षको असार मसान्तसम्मको हो । जसमध्ये सबैभन्दा धेरै भारतले १०३ अर्ब ४५ करोड अर्थात् ३५ प्रतिशत लगानी गरेको प्रतिवेदनमा जनाइएको छ । त्यसपछि क्रमशः चीन ३५ अर्ब ४६ करोड (१३ प्रतिशत), आयरल्याण्ड २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलिया १८ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरको १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) लगानी छ । आर्थिक वर्ष २०७८–०८० को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानीका मौज्दात ११ दशमलब ८ प्रतिशतले वृद्धि भई २९५ अर्ब ५० करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलब ८ प्रतिशत, सञ्चिति ३३ दशमलब ७ प्रतिशत र कर्जाको अंश १३ दशमलब ५ प्रतिशत रहेको छ ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलब ७ प्रतिशत औद्योगिक क्षेत्र र ४० दशमलब २ प्रतिशत सेवा क्षेत्रमा रहेको पनि प्रतिवेदनले देखाएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशलमब ४ प्रतिशत वैदेशिक लगानी रहेको पाइएको छ ।यसैगरी, कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुमा रहेको छ । प्रदेशगत आधारमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा ५९ दशमलब ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।त्यसपछि क्रमशः गण्डकीमा १५ दशमलब १ प्रतिशत, कोशीमा १४ दशमलब ७ प्रतिशत, मधेशमा ८ दशमलब ८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक प्रतिशतभन्दा कम देखिएको छ ।

त्यस्तै, वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६० दशलमब ६९ प्रतिशत रहेको छ भने इक्विटीको प्रतिफल करिब ११ दशमलब ६१ प्रतिशत रहेको छ । वैदेशिक लगानीको तथ्याङ्क संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणका लागि राष्ट्र बैंकले प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन तयार पार्ने गरेको छ ।

footer