kumari
stcnepal

कांग्रेसको बैठक : महामन्त्री थापा र शर्माको प्रतिबेदनमा जुट्यो सहमति

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो ।

महामन्त्रीद्वयको प्रतिवेदनमा चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उठाइएको थियो । बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा सहमति जुटेको छ । ‘सबै कुरामा सहमति भयो । विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भयो । पार्टीका विधानसँग सम्बन्धित जति पनि मुद्दाहरू छन्, ती सबैलाई विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भयो’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले भने ।

महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भने कहीँ कतै पनि गठबन्धन उल्लेख नगरिएको पौडेलले बताए । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने केही कुरा पनि नआएको उनले बताए । उनले भने, ‘गठबन्धन गर्ने नगर्ने केही कुरा पनि आएन, नेपाली कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भयो ।’ त्यस्तै बैठकमा महामन्त्री शर्माको प्रतिवेदनमा उल्लेखित ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको बेला यो एजेण्डालाई छलफलमा ल्याउने गरी छलफल भएको पौडेलले बताए ।

बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू पनि सहभागी थिए । आइतबार पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । शनिबार भएको सहमतिलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी छ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।

footer