काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगद सहित सम्मान गरेको छ ।
बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नु भएको हो । त्यस अवसरमा पलेशाका प्रशिक्षकक विराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै, पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सिमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’ पलेशाका मातापिताको योगदानका कुरा गर्दै उहाँले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा व्यक्त गर्नुभयो । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उहाँले, पलेशाका बुबाआमा, सन्तानको सफलताकालागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भन्नुभयो,‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’