मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला सचिवालय सदस्य शिवकुमार काशीले आफ्नो पदबाट राजीनामा दिएर आजदेखि नेकपा (एमाले) मा गोलबद्ध भएका छन् ।
काशीले एकीकृत समाजवादी पार्टीसँग आफ्नो राजनीतिक यात्रा टुंग्याउँदै एमालेमा आवद्ध हुने निर्णय गरेका हुन् । उनले पार्टीमा रहेका सैद्धान्तिक र संगठनात्मक समस्याका कारण आफूले पार्टी परिवर्तन गर्ने निर्णय गरेको बताए । एमाले मकवानपुरले आज एक कार्यक्रमको आयोजना गरी उनको आगमनलाई स्वागत गर्दै पार्टीको नीति, सिद्धान्त र विचारप्रति उनको विश्वासको कदर गरेको जनाएको छ । काशीको आगमनले एमाले मकवानपुरमा अझै सशक्ता आउने अपेक्षा गरिएको छ ।
पार्टीका जिल्ला नेतृत्व तथा स्थानीय नेताहरूले काशीलाई हार्दिक स्वागत गरे । एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानालगायतका नेताहरूले काशीको आगमनले पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा काशीले आफ्नो राजनीतिक जिम्मेवारीलाई इमान्दारीपूर्वक निभाउँदै एमालेलाई आगामी दिनमा थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।