राजन कार्की
पहिले पहिले जागीर भनेको जा गीर हो । ब्यापार अपार हुन्छ भनिन्थ्यो ।
बहुदल र लोकतन्त्रमा राजनीति अपार भएको छ । जो राजनीतिमा लागेका छन्, तिनले अचम्मको प्रगति गरेका छन् । प्रगति अर्थात् सम्पत्ति जोड्न सकेका छन् ।
बुद्धिजीवीहरु भन्थे– असल बन्नु । अझै गाउँघरमा भनिन्छ पढेर ठूलो मान्छे बन्नु । पढेका वा नपढेका जो राजनीतिमा लागेका छन्, सबै ठूला ठूला मान्छे बनेका छन् । अर्थात् सम्पन्न, सम्भ्रान्त बनेका छन् । जो असल थिए, ती सबै कि देशमा साँघुरिएका छन्, धेरैजसो विदेश भासिएका छन् ।
राजनीतिले अपराधिक र अनैतिक बलमा नेतृत्व गरेकाले वर्तमान नेतृत्वबाट देश नचल्ने भयो । यिनले देशलाई एउटा निश्चित दिशा दिन असफल भए । देश जिवन्त हुनुपर्छ, समाज जिवन्त हुनुपर्छ, देश छ, समाज छ, जिवन्तता छैन । जता पनि भ्रष्ट र अनैतिकहरुकै हालीमुहाली, देश कसरी बन्छ श्र
३८ वर्षदेखि राजनीति र सत्तामा स्थापित नेतृत्व राजनीतिलाई जागीर बनाइरहेका छन् । सेवा र देशभक्ति यिनका लागि कुनै अर्थ राख्दैन । राजनीतिमा जागीरेपनले समाज परिवर्तन गर्न सक्दैन । जागीरेपनले नेता, तिनका परिवार र आफ्ना गुटलाई लाभ हुनसक्छ । बहुदल र लोकतन्त्रमा भएको यही हो ।
नेपाली नेतृत्वले बिर्सेका छन्, विश्व घटनाक्रमबाट शिक्षा लिदैनन्, समयले कसैलाई पर्खदैन भन्ने बिर्सेका छन् । समय अगाडि बढिरहन्छ । लोकतन्त्र न अगाडि बढ्यो, न स्थिर रह्यो । लोकतन्त्र त विधिबिहीन बनेर पश्चगमन गइरहेको छ । यसको अर्थ लोकतन्त्रजस्तो पद्धति चलाउन सकेन यो नेतृत्वले । नेतृत्वले चलाएको कुनीतिमात्र हो ।
०४६ अथवा ०६३ सालको जनआन्दोलनमा सबै समस्याको जड पञ्चायत भनियो, पञ्चायत फालेपछिको बहुदल झन समस्याको पहाड बन्यो । बहुदलभन्दा लोकतन्त्र ठिक भनेर राजतन्त्रलाई किनारा लगाइयो । लोकतन्त्रमा नेतृत्व समस्याको जड साबित हुनपुग्यो । वर्तमान कालखण्डमा समयले उभ्याएको प्रश्न भनेको– राजा कि बहुदल, बहुदल कि लोकतन्त्र ? धर्म कि धर्मनिरपेक्षता ? यो नेता कि ऊ नेता ? यो चुनाव कि त्यो चुनाव ? भन्दा भन्दै बहुदलपछिको ३६ वर्ष, लोकतन्त्रपछिको १८ वर्ष भइसक्यो । लोकतन्त्र लाइनमा आएन । लोकतन्त्र भाँडिएको होइन, नेतृत्व भाँडियो । लोकतन्त्र बदनाम भयो । विश्वमा नेपाल भ्रष्टाचारी मुलुक भनेर चिनियो ।
संक्रमणकालीन न्याय सम्पादन नहुँदा त्यसै पनि नेपाल दण्डहीन मुलुक भनेर बदनाम छ । भ्रष्टाचारको जगजगी भनेर बदनाम छ । नैतिकहीन शासक प्रशासक भएको देश भनेर बदनाम छ । अब लोकतन्त्र नै बदनाम गर्ने मुलुक भनेर चिनिएको छ । यो नेतृत्वबाट देश असफल हुने पक्का छ । के गर्ने ? यसको निर्णय अन्तिम शक्ति जनताले निर्णय गर्नुपर्ने समय आएको विश्लेषण आन्तरिक बाह्य दुबैतिर गर्न थालिएको छ । सडकमा जनताको आक्रोशपूर्ण भीड देखिनु यसैको कारण हुनसक्छ ।
राज्य, नेतृत्व, नागरिक समाजमा नीति र नैतिकता नहुनु भनेको असफलता हो । भ्रष्टाचारी, अनैतिकहरू दण्डित हुँदैनन् भने कानुनव्यवस्थाको अर्थ रहन्न । वर्तमान पुस्ता भ्रष्ट र देश तथा जनताप्रति बेइमान बनेकोले तिनलाई दण्ड दिनैपर्छ । तव न भावी पुस्ताले आफू पनि दण्डित हुने भय मान्छ र इमानमा बस्छ, नैतिकवान हुन्छ र जवाफदेहीता लिन्छ । हत्या बलात्कार, भूमाफिया र कमिशनका ठूला ठूला काण्डहरूलाई ढाकछोप गर्ने प्रवृत्तिले देशलाई अराजक र खोक्रो पारिसक्यो । जुन दिन नैतिकहीनहरूलाई दण्ड दिने बलियो बिधिको शासन बस्नेछ, त्यसदिन देखि शासन र प्रशासन जनमुखी हुनेछ । देशको बलियो जग बस्न थाल्नेछ । परिवर्तन भयो, परिवर्तनपछि आएका नेताहरुमा इतिहास निर्माण गर्ने भोक देखिएन, सत्ता र सम्पत्ति जोड्ने परिवारवादमात्र देखियो ।
यस्तो परिवारवाद भन्नेहरु लोकतन्त्रको आसनमा छन् र लोकतन्त्र लोकतन्त्र भनिरहेका छन् । वास्तवमा नेपालमा जोकतन्त्र चलेको छ । स्वदेशी न विदेशीहरू, पैसा भए नेपालमा जे पनि गर्न सकिन्छ भनेर हाँसिरहेका छन् । यो जोकतन्त्र नभए के हो ? बौद्धिकतासमेत दास मनोवृत्तिमा रमाउन थालेपछि देशको यस्तै बेहाल हुन्छ, नेपाल बेहाल भोगिरहेको छ । नेपाली नेतातन्त्रको कहर खपिरहेका छन् ।
शहीद दिवस मनाइयो । जो देशका लागि मरे तिनको अपमान गर्दै पार्टीका १५ हजार शहीदको गुणगान गाइयो । यथार्थमा शहीदहरू स्वाभिमानका लागि हाँसी हाँसी छातीमा गोली थाप्छन् र देशका लागि मर्छन् । देशका लागि राजनीति गरेको भन्नेहरू जो छन्, ती निकृष्ट छन् किनकि तिनले उत्कृष्ट केही पनि गरेनन् । शहीदको सम्झना गरिन्छ, सद्भाव र सम्झनाका फूलका हकदार हुन्छन्, वर्तमान नेतृत्वपङ्क्ति भन्नेहरूले मलामी पाउनसमेत मुस्किल छ ।
वर्तमान नेताहरु जसले नेपालको अस्तित्वलाई ब्रम्हनालमा पु¥याइसके, तिनको गणना मित्रमा होइन, शत्रुमा गर्न‘पर्छ । तिनलाई देशभक्तमा होइन, देशघातकको सूचीमा राख्नुपर्छ । चुनाव जित्नु, सत्तामा पुग्नु, व्यभिचार गरेर शक्तिशाली हुनु भनेको अमर हुनु होइन । त्यसै उखान बनेको छैन– कायरहरू पल पल मर्छन् । बाँचेको देखिने हाम्रा नेताहरू पल पल मरिरहेका छन् । तिनीहरूको भौतिक शरीर सिद्धिएको दिन, तिनको नामनामेसी तिनका आफ्नै परिवारजन, बंशजले समेत सम्मानले लिने छैनन् । यतिबिघ्न घृणायुक्त बने नेताहरु ।
सम्मानित हुनका लागि लोकका अपेक्षा पूरा गर्नुपर्छ । लोकको मन जित्नुपर्छ । तक्षशीलासमेत जित्ने महावली रित्तै हात फर्किए । भारतका चक्रवर्ती महाराज लुम्बिनीमा आएर बौद्धमार्गी बन्नुप¥यो । ती हुन् सम्राट अशोक । यसकारण उनीहरु सम्मानित छन्, हाम्रा नेताहरु राजनीतिका कलंक हुन् ।
देश हाँक्नेमा स्वाभिमान हुनुपर्छ, स्वराज बोक्नुपर्छ । नेपालमा लोकतन्त्र ल्यायौं भनेर मरीमरी हाँस्छन् नवबास्साहरू । देशलाई द्रौपदी बनाउनेहरूले बुझ्नैपर्छ, सम्प्रभूताको मूल्य पद, पैसा र व्यक्ति प्रतिष्ठा हुनसक्दैन । देशभित्रै कौरव चरित्र बढ्नु र त्यसमा विदेशी दुशासनहरूले मनपरी गर्नु भनेको वीरहरूले जोडेको मुलुकमा कायरहरूको शासन पो आएछ भन्ने प्रमाण हो ।
परिवर्तन भयो, संविधान बन्यो । भयो के ? नेता र तिनका परिवानजनले सुख पाए । जनताका लागि भयो ? उही दुःखको भारी । यस्तो नेतृत्वले नेपालको सरकारले देशको राजनीतिक नक्सामा समेत गर्व गर्न सकेन । कत्रो बिडम्बना ? यही कमजोरीको फाइदा उठाएर पश्चिमाहरू नेपालमा आइरहेका छन् । दक्षिण एसियामा र खासगरी नेपालमा भारतीय चक्रव्यूह झन झन बढेर गएको छ । नेपाली नेताहरू स्वार्थी भएको प्रमाणित गरेपछि दक्षिणाले कालापानी, लिपुलेक, लिम्पियाधुरामात्र होइन, कञ्चनपुरमा ९ सय बिगाह जमिन खाइसक्यो । ६७ ठाउँमा सीमा अतिक्रमण गरेकै छ । शासन प्रशासनमा उसकै हैकम चल्न थालिसकेको छ । वीरले देश बनाए, लोकतन्त्रे कायरहरूले देश बर्बाद पारिदिए ।
कति निरीह छ लोकतन्त्र ? १९५० को सन्धि समेत फेर्न सकेन स्वतन्त्र नेपालले । प्रवुद्ध समूह गठन गरेर भारतले नेपाललाई फनफनी घुमाइदियो । त्यो रिपोर्ट बुझेर सार्वजनिक गर्ने साहस समेत छैन हाम्रो नेतृत्वसँग । मानौं, हाम्रो नेतृत्व हामीलाई डस्ने सर्प हो र यो सर्प विदेशी गरूडको छायाँमा लाटोबुङ्गो बनेर चुमुर्किन बाध्य छ । नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रहरूमा विदेशीले हान्दै गएको बाघपञ्जा हेर्दा नेपाल रक्तपात र बिघटनतिर गइरहेको छ । जनता भयभित बन्दैगएको छन, नेतृत्व केही भएको छैन भनेजस्तो गरेर चुपचाप छ । समयको आहट बुझ्ने बुझकीहरू नेपालको असफलताबाट अस्तित्व संकटमा परिसक्यो भन्छन् ।
पुर्षाले स्वाधीन राष्ट्र निर्माण गरे । स्वतन्त्रता नेपालीको मुटुदेखिको चाहना हो । यो माटो, हावा, पानी, हिमाल, पहाड, तराई नेपालीको छाती हो, नेपाली यहीँ उभिएका छन्, बाँचेका छन् । अरू राष्ट्र सार्वभौम भएर बाँच्न सकेको ती देशका नेतृत्व र जनता देशभक्त भएर हो । नेपालसँग सबै छ, नेतृत्वमा इमान नहुँदा समस्या बढेको हो । समस्याको जड नेतृत्व हो, शासक प्रशासक हुन् । यिनलाई लोकले खरी घस्ने र कुमारीचोक असुल्ने समय भयो ।