काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने भएको छ । झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।
बैठकको पहिलो दिन प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रचण्डले सम्बोधन गर्ने तयारी गरेका थिए । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा सत्ता घटक मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्ने समय दिएका थिए ।घिमिरेले प्रचण्डलाई २० मिनेटको समय तोकेपछि असन्तुष्टि जनाउँदै उनले प्रमुख सचेतक हितराज पाण्डेलाई पठाएका छन् । बिहीबार बस्ने बैठकमा प्रचण्डले विशेष समय लिएर सम्बोधन गर्ने सांसद माधव सापकोटाले जानकारी दिए । उनले बैठकको सुरुको दिन भएकाले आफूहरूले संयम अपनाएको जिकिर गरे ।
‘संसद्को पहिलो दिन हामीले संयम अपनाएर सशक्त प्रतिरोध नगरेको हो । बिहीबारको बैठकमा हाम्रो संसदीय दलका नेता प्रचण्डले सदनमा सम्बोधन गर्नुहुन्छ । त्यसपछि प्रतिपक्ष दलको हैसियतले सरकारका गलत कामको विरोधमा सशक्त र प्रभावकारी ढङ्गले प्रस्तुत हुन्छौं । यी बाहेक विपक्षी दलहरूसँग मिलेर प्रभावकारी उपस्थित देखाउनेछौँ’, उनले भने । पहिलो दिन दलीय आधारमा सबै दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए । ओली सरकारको ६ महिना पूर्णतः असफल भएको विपक्षी दलहरूको निष्कर्ष रहेको छ ।