kumari
stcnepal

बाणिज्य बैङ्कहरूको ब्याजदर ४५ महिनायताकै न्यून, तर पनि बढेन कर्जाको माग

काठमाडौं। वैशाखका लागि तीन वटा वाणिज्य बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुई वटा बैंकले ब्याजदर घटाएका छन ।

बाँकी १५ बैंकले भने एकवर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन । यसअनुसार वैशाखमा एकवर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशत कायम भएको छ । चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र न्यूनतम ४.०५१ प्रतिशत थियो ।यस्तै २० वाणिज्य बैंकमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ । यसअनुसार वाणिज्य बैंकहरूमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४.४१४ र न्यूनतम ३.०१३ प्रतिशत कायम भएको छ । चैत महिनामा यस्तो ब्याजदर क्रमशः ४.४६४ र ३.०१३ प्रतिशत रहेको बैंकहरूले प्रकाशन गरेको मासिक ब्याजदर तालिकामा उल्लेख छ ।

लामो समयदेखिको तरलता कायम रहेको भन्दै पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । सोही क्रममा बैंकहरूले वैशाखका लागि पनि घटाएर निक्षेपको नयाँ ब्याजदर प्रकाशन गरेका छन । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घटेर गत फागुनमा औसत ८.४ प्रतिशतमा झरेको छ । यो करिब ४ वर्ष (४५ महिना) अघिको अवस्था हो । आर्थिक वर्ष २०७७/७८ असारमा बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर औसत ८.४३ प्रतिशत थियो । त्यसयता ऋणको ब्याजदर उकालो लागेको थियो ।आर्थिक वर्ष २०७९/८० को फागुनमा ऋणको ब्याजदर औसत १३.०३ प्रतिशत पुगेको थियो । त्यसयता पुनः ब्याजदर घट्न थाल्यो । सोही क्रममा गत फागुनमा ऋणको औसत ब्याजदर ८.४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७७÷०७८ असारमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर औसत ४.६५ प्रतिशत रहेको थियो । त्यसयता ब्याजदर बढेर औसत साढे ८ प्रतिशतसम्म पुगेको थियो । पछिल्ला महिनामा ब्याजदर घटेर गत फागुनमा ४.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकको मासिक तथ्यांक अनुसार २०८१ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.५४, विकास बैंकहरूको ५.३२ र वित्त कम्पनीको ६.३६ प्रतिशत छ । यस्तै २०८० फागुनमा वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ६.७४, विकास बैंकहरूको ७.९३ र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत कायम भएको थियो । २०८१ फागुनमा भने वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.४०, विकास बैंकहरूको ९.७८ र वित्त कम्पनीहरूको १०.५३ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८, विकास बैंकहरूको १२.५२ र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप थपिएको छ । गत असारको तुलनामा यो ४.३ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको थियो । गत असार मसान्तमा बैंकहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

बिगत आठ महिनामा २० वाणिज्य बैंकले कुल ३ खर्ब ४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन । गत असार मसान्तको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । गत असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यस वर्षका अघिल्ला महिनामा कर्जाको माग केही बढे पनि पछिल्ला महिनामा ऋणको माग धेरै नआएको बताउनु भयो ।

उहाँका अनुसार ‘ब्याजदर घटिरहे पनि कर्जाको माग खासै बढ्न सकेको छैन । कर्जा र निक्षेपको उल्लिखित तथ्यांकले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च रहेको देखाएको छ । यो आर्थिक वर्ष सकिन अब तीन महिना मात्र बाँकी छ । यो वर्ष सरकारले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ ।

footer