kumari
stcnepal

पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको निर्देशन

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका पार्टी नेतालाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् ।

देउवाले बोलाएपछि मंगलबार काठमाडौं पुगेका कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई जसले टिकट पाए पनि विवाद नगरी जिताएर पठाउन निर्देशन दिएका हुन् ।

‘कास्कीमा कांग्रेसले टिकट पाए मात्र जित्न सम्भव हुन्छ, एकीकृत समाजवादीलाई टिकट दिँदा धेरै जना रूष्ट हुन सक्छन् भनेर पोखराको यथार्थ जानकारी गरायौं,’ देउवालाई भेटेर पोखरा फर्किँदै गरेका कास्की सभापति बरालले टेलिफोनमा भने, ‘गठबन्धन भएपछि सबै ठाउँमा हाम्रैले पाउँछन् भन्ने हुन्न, जसले पाए पनि गठबन्धन जिताउन लाग्नू भन्ने उहाँको निर्देशन थियो ।’

देउवाले गठबन्धन भएकाले जसले पाए पनि कार्यकर्तालाई बुझाएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका थिए । देउवाले गठबन्धनको यथार्थ बताउन र चुनावी अभियानमा लाग्न निर्देशन दिन नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

 

 

 

footer