kumari
stcnepal

प्रदेश एक बाट एमालेका को को सिफारिस भए, ल हेर्नुस नामावली

विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम सिफारिस गरेको एमाले प्रदेश १ कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए ।

प्रदेश कमिटीले सुझावको रुपमा प्रदेश १ सरकारका पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरेको छ । उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ । एक जना मात्र उम्मेदवार सिफारिस गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा महानगरको मेयरमा पाँच जनाको नाम सिफारिस भएको प्रदेश कमिटीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ । नगर कमिटीले सिफारिस गरेका मेयरसहित दुई जनाको नाम भने प्रदेश कमिटीले कटौती गरेको छ । मेयर द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएन ।

प्रदेश सचिव पाठकले चौधरीको नाम तल्लो कमिटी बाट नआएका कारण प्रदेशले सिफारिस नगरेको दाबी गरे । उनले उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको बताए । धरानको मेयरमा एमालेले मोतीराज सुनुवार, मञ्जु भण्डारी, बिजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको छ ।

नगर कमिटीले ११ जनाको नाम पठाएकामा प्रदेशले रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केको प्रदेश कमिटीले कटौती गरेको छ । प्रदेश कमिटीले उपमेयरमा भने पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।

 

 

footer