kumari
stcnepal

हामी हिड्डुल गर्ने लाश नै हौं त ?

  • राजन कार्की

कानुन पत्रिकाको अंक ५ मा अधिवक्ता प्रकाश वस्ती, जो राष्ट्रिय मानवाधिकार आयोगको सदस्य पनि हुनुहुन्छ, वहाँले लेख्नुभएको छ– ‘यो कस्तो देश भनिने परिवेश हो, जहाँ कतै कुनै सुनवाई नै छैन । कसैले कसैलाई जवाफ दिनै पर्दैन, जसले जे गरे पनि हुन्छ, रोक्ने कोही छैन । जसले जति सक्छ त्यति भ्रष्टाचरा गरे हुन्छ । लोकलाज र डर ककतै कसैलाई केही छैन । हाम्रा सबै चेतना निर्जीव भइसके, सबै संवेदना मरिसके । यस्तो लाग्छ, हामी सबै हिड्डुल गर्ने लाशमा अनुवाद भइसक्यौं ।’

आज सिंहदरवार र शीतल निवासका श्री ६ महाराज, महारानीलाई कसरी आफ्ना मान्छे भर्ति गर्ने, कसरी देश लुट्ने, कसरी बढीभन्दा बढी सुख भोग्ने टेन्सन छ । यो कुरो बताइदिने कुनै डाक्टर महेन्द्रप्रसाद श्रीवास्तवहरु छैनन् । लोकतन्त्रश्री ३ को भन्दा गएगुज्रेको शासन भयो । कसैभित्रको चेतना बोलेन, लोकतन्त्र तुहियो । यो अवस्था हामी लाश भएको अवस्था होइन त ?

तुहिनु अर्थात खेरजानु । खेर गयो लोकतन्त्र । लोकले लोकका लागि ल्याएको लोकतन्त्र नेता र प्रभावशालीहरुले खोरिया र मौजा बनाएपछि खेर गयो लोकतन्त्र । भनिन्छ, अघिको तीतो, पछिको मीठो । लोकतन्त्र अघि पनि शोक, पछि पनि शोक बन्यो । नेपालीका लागि मीठो मसिनो भनेको भाषणमात्र भयो ।

नेता छन्, नेतामा हुनुपर्ने नीति–शिक्षा, नैतिक– शिक्षा, सैन्य–शिक्षा, व्यूह–शिक्षा, राजनीतिक–शिक्षा केही पनि छैन । अयोग्य बिराजमान आसनबाट हुने शासन कसरी फलिभूत हुनसक्छ ? लोकोक्ति छ– माफ बार बार गर तर विश्वास एकबार गर । जनताले आफ्ना नेताहरुलाई बार बार विश्वास पनि गरे, माफ पनि गरे । फलतः नेता पुलपुलिन पुगे । यहीकारण लोकतन्त्र– अघिपछि अन्त चैतमा जन्त हुनपुग्यो । होस हराएका नेताको शासन भएको राष्ट्रले पहिचान हराउँदैछ ।

यही कारण नेतृत्वमा दुर्गन्ध छ, यो पद्धतिमा सुगन्ध छैन । माटोको महत्व त अपरम्पार छ, नेताहरु गन्धे झारमात्र छन् ।

३ करोड जनसंख्या भएको नेपाल, ६२ लाख नागरिक रोजी रोटी, अवसरका लागि विदेशीएका छन्, २ करोड ३८ लाख जनसंख्याका लागि ७ सत सय ६१ सरकार छन्, तीन तहको संरचना छ र यसमा २८ हजार २ सय ८ जना राजाहरु छन् । पहिले ७० जना विशिष्ट थिए अहिले ४ हजार ८ सय ६० जना पुगेछन् । लोकतन्त्र नीति विधि होइन, नाता र व्यक्ति प्रधान देश बन्नपुग्यो ।

नेपाल छोराहरुलाई मजदुर, छोरीहरुलाई बेश्या बनाएर निर्यात गर्ने मुलुक हो । पहिले बम्बैमा बेचिन्थे, अहिले कंगोसम्म युवतीहरु बेश्यावृत्ति गर्न पु¥याइएका छन् । युवतीहरु शरीरका छालाका लागि समेत तस्करी भइरहेका छन् । मानौं, नेपाल दासको मुलुक हो ।

दासहरु जहाँ जन्मे त्यहाँ पनि दासै हुन्, जहाँ बेचिए, त्यहाँ पनि दासै हुन् । नेपालीको जीवनलाई नेपालमै दासजस्तो पारिएको छ, विदेशमा पनि दासकै जीवन बाँचिरहेका छन् । नेपाल सार्वभौम मुलुक हो, संविधान भन्ने कागजको खोस्टोमा हो । नेपाली जीवनमा कहिले पनि स्वतन्त्रता भन्ने आएन ।

लोकतन्त्र जिसका लाठी, उसका भैँस हो । कमजोरलाई कानुनमा घुमाइन्छ, बलियाले कानुनलाई घुमाउँछन् । व्यभिचारको बगैँचा हो लोकतन्त्र, यहाँ जत्ति नाङ्गिए हुन्छ, जत्ति नङ्ग्याए हुन्छ ।

९५ प्रतिशत ॐकार परिवार बसोबास गर्छन्, त्यो देश धर्मनिरपेक्ष । ती ॐकार परिवार ०६४ सालदेखि धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तन सहेर बसेका छन्, हेरेर बसेका छन्, यो दासत्व नभए के हो ?
लोकतन्त्रमा लोकमत, लोकइच्छा, लोकअपेक्षा, लोकसुझाव, लोकबल र लोकाचार नै लक्ष्मणरेखा हो, सबेले मान्नुपर्ने हो । भ्रष्टाचारी टाउको उठाएर हिड्छ, दुराचारी आफै पुरिनेगरी माला लगाएर निस्कन्छ, मान्छेदेखि माटोसम्मका बलात्कारीहरुको मान सम्मान हुन्छ, जयजयकार गर्ने हामी नै हौं, हामी दास नभए के हौं ?
उनीहरु लाठसाहेब हुन्, हामी तिनका रैती, दास ।

यस्ता नैतिकहीन, सिद्धान्तहीन, निष्ठाहीन नेताहरु भन्छन्– लोकतन्त्र ल्यायौं, लोकतन्त्र आयो । नङ्गा महाराजहरुलाई हामी नाङ्गो भन्न सक्दैनौं र उनीहरुको नाङ्गो शरीरको, नाङ्गो अभिव्यक्तिको प्रशंसा गरिरहेका छौं, हामी दास हौं ।

जो लोकतन्त्रमा समाजवादको सपना देख्थ्यो, ऊ सोम शर्मा बनिरहेको । जो संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थ्यो, ऊ बोकाको टाउका देखाएर कुकुर बेचिरहेको छ र हामी किन बोको देखाएर कुकुर बेचेको प्रश्न गर्न सक्दैनौं, हामी कसरी नागरिक हौ ?

नामले हुने भए दैनिक ५० लाखको गुँदपाक र पुष्कारी विक्रीहुने न्यूरोड गेटको श्रीकृष्ण गुदपाक भण्डारभन्दा पवित्र के थियो होला, तर अनुसन्धान गर्दा दिशा, पिसाव र खकारसमेत मिसाइएको भेटियो । लोकतन्त्रको चहकिलो साइनबोर्ड त झुण्डिएको छ, यो साइनबोर्डभित्र राजनीतिको आपराधिक व्यवसाय गूको मूला फस्टाएझैं फस्टाइरहेको हामी सबै भोगिरहेका छौं । लोकतन्त्र अपराध भित्र्याउने परिवर्तन भयो । हामी दासजसरी टुलुटुलु हेरिरहेछौं, जतिसुकै पीडा भए पनि सहिरहेछौं । खोई हाम्रो नागरिक हैसियत ? विवेक भए पनि हामी बोल्न नसक्ने के हौं, हलेदो भनेपछि कोट्याइरहनु पर्छ र ?

देख्नेका आँखा फुटे, सुन्नेका सही । परिवर्तनपछिका १४ वर्ष देश उपेक्षित भयो, लोक उपेक्षित भए । संविधानसभाको ८ वर्ष र संवैधानिक शासनको ६ वर्ष, ३० अर्व देखादेख र खर्वौं अनियमितता भयो, लोकका लागि लोकतन्त्र आँखाको रमिता पेटको विपत्तामात्र हुनपुग्यो । लोककोष उडाइयो, लोकमत अपमानित भयो ।

लोकतन्त्र जनताका लागि कालो पोते नपाउनेलाई तिलहरिको धोको मात्र हो । संविधान कार्यान्वयन भनेर झ्याली पिट्नेहरु पिटिरहेका छन्, इन्टरनेशनल क्राइसिस ग्रुपले ब्रसेल्सबाट नेपालमाथि नै प्रश्नचिन्ह लागेको रिपोर्ट सार्वजनिक गरेको पढ्दैनन्, वल्र्ड बैंक र एडीबीको कहालीलाग्दा अर्थव्यवस्था र जनजीवनबारेको तथ्य पनि पढ्दैनन्, वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीमाथि दासजस्तो व्यवहार गरिन्छ भन्ने विभिन्न निकायको रिपोर्ट पनि पढ्दैनन् । लोक सरकारको दृष्टिमा लोक भए न पढ्ने हो, सत्ता र सम्पत्ति माथि मात्र नजर गाड्नेहरुलाई नन्दप्रसाद, गंगामाया, निर्मला पन्त, सम्झना विकहरु देशमा मरुन् कि विदेशमा, के मतलव ?

भयानक रक्तपातपछि शान्तिको सूर्य उदाउला भनेको त लोकजीवन, राष्ट्रिय जीवनका लागि लोकतन्त्र जोखिम हो, स्वाभिमानका लागि धराप भो ।

देशमा आँधीअघिको सन्नाटा छाएको छ । समुद्र शान्त हुन्जेल, रमाइलो लाग्छ । जब समुद्र उर्लिन्छ, सुनामी चल्छ र बितण्डा मच्चाउँछ । देशको दर्द र लोकको आँसु यिनका लागि सुरा र सुन्दरी नाच भइरहेको देख्दा लाग्छ, लोकतन्त्रको दुरुपयोग गर्ने दुशासनहरु बितण्डाको प्रतिक्षामा छन् शायद ।

लोकमैत्री भनेको जनताप्रतिको जिम्मेवारी, घोषणापत्रप्रतिको जवाफदेहीता हो । जुन छैन, द्वन्द्व यही हो । तर्क, बितर्क र बहस लोकतन्त्र हो, द्वन्द्व हिंसा हो । लोकतन्त्रको जामा लगाएर हत्या र हिंसा पर्व गाईजात्रा मात्र हुन्छ । थिति बेथितिमात्र हो, निरंकूशता हो ।

अलोकतान्त्रिकता क्रोनिक हुनुपूर्व समाधान खोज्नुपर्छ, अन्यथा क्यान्सर हुन्छ । एकातिर भ्रष्टाचारको उच्च रक्तचाप, अर्कोतिर अनियमितताको सुगररोग, त्यसपछ अर्कोतिर क्यान्सर । यो स्थिति अवश्यम्भावी मृत्यु हो ।

कुनै पनि पार्टीमा, प्रशासनमा लोकमैत्री भावना नै छैन । लोकतन्त्रका हाकिमहरु मृत्यु अँगालेर सुखानुभूति लिइरहेका छन् । हामी दासजस्तो बनेर यो तमासा हेरिरहेका छौं ।

जनताले मत दिनुपर्ने, मत लिएपछि मात चढेकाहरुबाट जनता नै लछारपछार हुनुपर्ने ? के लोकतन्त्र भनेको नेताको सर्वसत्ताबाद हो ? जनमत, जनबल लिनेहरु जनताका सेवक हुन्, मालिक वा भगवान होइनन् । जनताले जे गरे पनि हुन्छ भनेर पञ्जापत्र दिएका होइनन् । यो चेत जनतामा हुनुपर्छ, जनप्रतिनिधिमा पनि हुनुपर्छ । यही चेत नभएकाले राजनीति र प्रशासन अपराध उत्पादन गर्ने फेक्ट्र बनेका हुन् ।

अब त अति भयो । राजनीति गर्ने र प्रशासन चलाउनेहरुले नाकलाई फोहरको गन्दे नालीमा धेरै जोते । गणतन्त्र, लोकतन्त्रमा टुकुचा गनाउन थाल्यो । संक्रमित फोहर नाक बोकेर नेपाल कतिदिन विश्व समुदायमा सभ्य भएर उभिन सक्छ ?

लोकतन्त्र आतङ्क अव रोकिनुपर्छ । किन ०१७ साल आयो, लोकतन्त्रवादीहरुले बुझ्नुपर्छ, पढ्नुपर्छ । चेत र चेतनामा नैतिकता भएन भने त्यो चेत ज्यूँदो लाश हो । महादेवले सतीदेवीको लाश बोकेर हिँडेजसरी जनताले माटोको सुवास नभएको लोकतन्त्र, गणतन्त्र बोकेर कतिदिन हिडिरहने ? एकदिन त होसमा आउनैपर्छ, चेतलाई होसमा ल्याउनै पर्छ । दास बनेर मीठो सपना साकार हुन्छ भनेर कष्टको भारी बोकिरहने कि मीठो बर्तमानका लागि बेहोसीबाट व्यूँझने ?

लोकतन्त्रजस्तो ऐतिहासिक सजिव हुनसकेन । परिवर्तन निरर्थक बन्यो । पद्धति निष्ठामा उभ्याउन सकिएन । नेतामा त्याग नहुँदा पद्धति नागपास बन्यो ।

जनतामा वर्तमान अवस्थाप्रतिको बितृष्णाको सीमा नाघिसक्यो । लोकतन्त्र लोकको सुखानुभूति हुनुपथ्र्यो, दुर्गन्धपुर बनिसक्यो । लोकतन्त्रको बाजा बजाएर दानवनृत्य, दानवपर्व, यो २१औं शताव्दीका जनतामाथि अत्याचार हो ।

जनतामा जे भइरहेको छ, त्यसप्रति व्यापक अनास्था छ ।

footer