kumari
stcnepal

आन्दोलनको आगोले देश खरानी हुने खतरा

  • राजन कार्की

सत्तामा बस्नले विश्वास गुमाउँदै गएको छ । सडक तताउनेप्रति पनि जनआस्था छैन । दुबैतिर इमान नभएकाहरु कुस्ती खेलिरहेका छन् । आमनागरिक यो तमासाले वाक्क हुन थालेका बेलामा विदेशीहरुले चलखेल गर्ने अवशर पाएका छन् । कतै सरकार र सडकमा फुकेको आन्दोलनको आगोले देश खरानी नहोस् । यिनै हुन् स्थिरता र विकासका लागि बहुमत चाहियो भन्ने, जनताले दुई तिहाइ बहुमत थिए । अब त समृद्ध नेपाल, सुखी नेपाली देउ भनेर सुशासनको आशा लगाएर बसेका जनतालाई दलहरुले उल्टो लोप्वा ख्वाइदिए ।

निम्छरो संविधान र दुई तिहाइको लङ्गडो घोडा लड्यो, घोडचढी नेताहरु यतिबेला सत्ता, अदालत, सडक र गल्ली गल्लीमा लडिबुडी गरिरहेका छन् । एउटाले अर्कोलाई नाङ्गेझार पारिरहेछन् । मानौं यिनको दिमाग सड्क्यो । सड्केकाहरुलाई नेता भन्नुपर्ने देश र जनताको दुर्भाग्य नै हो । व्यवस्था परिवर्तन गरेर पनि जनताले सुख पाएनन् । महगो मूल्य चुकाउने त देश र जनताले नै हो । देश संकटमा प¥यो, देश जोखिममा फस्यो । यस्ता नेताले देश नै विदेशीलाई जिम्मा लगाइदिने हुन् कि भन्ने आपत आइप¥यो । संवैधानिक संकटमा नडुब्ने हो भने….। सबै सम्भावनाको नाम राजनीति हो । हरेक संकटको समाधान पनि राजनीतिबाटै सम्भव छ । एकथरि राजनीति असफल भयो, अर्कोथरि पद्धति ल्याइयो । त्यसले पनि कानुन व्यवस्था कायम गर्न नसकेपछि आएको गणतान्त्रिक लोकतन्त्र दुर्घटनामा प¥यो ।

अहिले नेपाल यही माखेसांङ्ग्लोको चेपोमा च्यापिएको छ । निस्कने कसरी ? यसको चिन्तन मनन भइरहेको छ । यही समस्यालाई अझ विकराल पार्न देशै अस्तव्यस्थ पार्ने, सत्ताधारीलाई सत्ताबाट खगार्ने सडक आन्दोलन भइरहेको छ । संविधानले काम गरेको भए यो अवस्था आउने थिएन । हिजोका दिनमा जुन जुन शक्तिहरु मिलेर राजतन्त्र र हिन्दुराष्ट्र मिल्काएका थिए, तिनीहरु एकापसमा प्रतिद्वन्द्वी बनेका छन् । एकले अर्कोलाई सिध्याउने उद्घोष गरिरहेका छन् । देशलाई अर्को रक्तपातमा लैजाने खतरा बढेको छ । सडकमा निस्किएको संसदीय सत्ताधारी पार्टीको एउटा हिस्सा शाकाहारी आन्दोलनले भएन भनेर हिंसाको बिगुल फुक्न थालेको छ । देश अर्को रक्तपातको स्लटरहाउस बन्ने जोखिममा पुगिसकेको देखिन्छ ।

अब गर्ने के ? सत्ताधारी भन्छ, आफू ठिक । सडकका भन्छन्, हामी ठिक । यता भूमिगत माओवादी र अर्धभूमिगतहरु पनि जनवादको युद्ध छेड्ने भनिरहेका छन् । हिन्दुवादी र राजतन्त्रवादी पनि सडकमा छन् । अर्थात् राजनीतिमा समुन्द्र मन्थर सुरु भएको छ । सबैलाई अमृत चाहिएको छ, मन्थनबाट निस्कने विष पिउने कसले ? यो विषको शिकार जनताले नै पिउनु पर्ने अवस्था सिर्जना हुँदैन । यसकारण बृहद राजनीतिक गोलमेच सम्मेलन गर्न लोकतन्त्रवादीहरु मात्र होइन, मोहन वैद्य, मोहनविक्रम, विप्लवसमूह र किनारा लगाइएको राजतन्त्रलाई समेत निम्त्याएर देशको वर्तमान र भविष्यबारेमा चिन्तन हुनुपर्छ । यसपछि सर्वमान्य एउटा राष्ट्रिय नीति तय गरेर अघि बढ्न सकियो भने नेपालको सुस्थिरताको प्रत्याभूत गर्न सकिने आधार बन्ने छ ।

अन्यथा एकतर्फी चुनावी तैयारीले समस्या समाधान हुनसक्दैन । मात्र समयको बर्बादी, स्रोतको बर्बादी हुनेछ । जनताले दुई तिहाइ मत दिदासमेत सुख पाएनन्, सुशासन पाएनन् । जनताले प्रतिनिधि छान्ने हो, प्रतिनिधिहरु लोकलज्जामा नबस्ने र नैतिकहीनताको पोखरीमा पौडीखेल्न रमाउने भएपछि आजको समस्या उत्पन्न भएको हो । चुनावले मात्र नैतिकपात्र जन्माउन सक्दैन । यसका लागि एउटा सीमारेखा कोर्नैपर्छ, त्यसका लागि गर्नुपर्ने निषेध र विभेदरहित राजनीतिक सम्मेलन नै हो ।

यसका लागि भूमिगत विप्लव माओवादी पनि राजनीतिक शक्ति हो । सानो होस्, वैद्य समूह र अर्धभूमिगत रहेका कम्युनिष्टका गुरु मोहन विक्रम सिंह पनि एउटा शक्ति नै हुन् । संविधान मान्छु भनेर संविधान निर्माण गरी त्यही संविधानमा अड्न, टिक्न र चल्न चलाउन नसकेकाहरु राजनीतिक पार्टी त शक्ति भइहाले । मुख्य शक्ति हिन्दुवादी र राजतन्त्रवादी हुन् । कसैलाई काखा र कसैलाई पाखा गर्नु नै यो संविधानको दुर्गुण हो । धेरै हदसम्म २०४७ को संविधान उत्कृष्ठ थियो । त्यसमा सुधार गरेर अघि बढ्न सकिन्छ । यही संविधानलाई लोकतान्त्रिक राजतन्त्र सहितको रुपमा परिमार्जन गर्न पनि सकिन्छ । यो कार्य गोलमेच सम्मेलनबाट सैद्धान्तिक सहमति निकाले चुनाव गराउने र संविधान संशोधन गरेर अघि बढ्न नसकिने छैन ।

झगडा, विवाद र बिद्रोह धेरै भयो । बिद्रोहले मात्र स्थिरता दिन सक्दैन । कति गर्ने रक्तपात । जनताको धेरै रक्तपात भइसक्यो । राष्ट्रका पूर्वाधारहरु नष्ट भइसक्यो । धेरै समय खेर गइसक्यो । यो पुस्ता असफल भयो, आउने पुस्तासमेत असफल हुने खतरा सन्निकट छ । यसकारण पनि गोलमेच सम्मेलन गरेर एउटा राजमार्ग त खन्नैपर्छ । मार्ग दुईवटा छन् । संविधान च्यात्ने कि चुनावमा जाने ? संविधान च्यात्न जनता सडकमा आउनुपर्छ । यसमा ठूलो नोक्सानी छ । चुनावमा जाँदा यही तरिकाका नेताहरुले चुनाव जित्छन्, यिनले शासन गर्ने हो । यही तरिकाको अस्थिरता, अराजकता र भ्रष्टाचार बढाएर पुगिने र पाउने फोहरको कन्टेनर नै हो । बिद्रोहमा जोखिम, चुनावबाट आउने सरकारमा पनि जोखिम । यसकारण सर्वदलीय सहमति गरेर राष्ट्रिय नीति निर्माण गर्ने र चुनावमा जाँदा शान्ति, स्थिरता, सहमति र प्रगति सबै कुरा सहज हुनसक्छ । यसकारण किन गोलमेच सम्मेलन नगर्ने ?

राजाप्रति निषेध र विभेद गर्न जरुरी छैन । मोहनविक्रम सिंह, वैद्य र विप्लवलाई आतंककारी भनिरहन पनि जरुरी छैन । किनभने दिल्लीको लगानीमा भएको जनयुद्ध र जनआन्दोलन कम आतंककारी थियो र ? जुन आतंकले १७ हजार मारिए, अराजकता भोगिरहेका छौं । विदेशी लगानीमा भएको परिवर्तन देख्यौं, यसबाट विदेशीलाई मात्र लाभ भयो, नेपाल र नेपाली कंगाल हुँदै मरिरहेका छन् । परिवर्तन नेपाली सामल र शक्तिले गर्दामात्र स्वाधीनताको बचाउ हुनसक्ने रहेछ । हामीले आफ्नै देशमा दुःख पाइरहेको कारण यही हो । यसका लागि छाती ठूलो हुनैपर्छ । छाती सानो पार्नु भनेको फेरि पनि विदेशीको हैकम स्थापित गर्नु हो । अझै पनि नचेत्ने ? अझै स्वाधीनता नबचाउने ?

मुलुक सही बाटोमा छैन । सही बाटोमा ल्याउने जिम्मेवारी अव नागरिकको हो । नागरिकले देखाएको सर्वमान्य र शान्तिपूर्ण निकासमा सबै दलहरु लाग्नुपर्छ । सबैले हार्ने होइन, सबैको जित हुने मार्ग नै शान्तिपूर्ण हुनसक्छ । भारतको लगानीमा भएको जनयुद्ध र जनआन्दोलन, १२ बुँदे दिल्ली सम्झौताले देशलाई बर्बादीको कृष्णभीरमा पु¥यायो । भीरबाट देश लड्नलाग्दा राम राम भन्ने होइन, काँध थापेर देश बचाउनुपर्छ । देश बचाउने दायित्व स्खलित भएर पतन मार्ग समातेका नेताहरुले सक्नेछैनन्, तिनलाई खबरदार गर्ने जनताले हो । जनताको दबाबले राजनीतिलाई सही ट्य्राकमा ल्याएर गोलमेच सम्मेलनका माध्यमबाट सबै राजनीतिक शक्तिहरुबाट एउटा सहमति निकालेर अघि बढ्नु उचित हुनेछ । किनकि संविधानसभाबाट निर्माण भएको संविधानले काम गरेन । हलो न मुङ्ग्रो बनेछ संविधान । सही मार्ग दर्शन गर्नसक्ने र सबैलाई सीमामा राख्नसक्ने संविधानको खाँचो थियो । संविधान त हिलोको किलो सावित भयो ।

किनकि संविधानले काम गरेन । संवैधानिक संकट अव सडकभरि छताछुल्ल देखिन्छ । किनकि संविधानले काम गरेन । संविधानले राष्ट्रपतिको मर्यादा, सरकार प्रमुख र सरकारको मर्यादा, संसद र संवैधानिक निकायहरुको मर्यादा, मतदान गर्ने जनमतको मर्यादा, कसैको पनि मर्यादा राख्न सकेन । कसैका मर्यादा गर्न नसकेकै कारणले संविधान कागजको खोस्टो बनिसकेको छ ।

किनकि संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाईसमेत बिधिसम्मत रुपमा चलाउन सकेन । संविधान भनेको सडक बन्यो, गन्तव्यविहीन सडक । अलमले घारी । त्यसैले संविधानमाथि जसले पनि कुल्चिरहेको छ र राजनीति यही अलमले घारीमा अलमलिने काम भइरहेको । ८ वर्ष लगाएर संविधानसभाले लेखेको संविधान कागजको खोस्टो । यही संंविधानले गराएको चुनावबाट बनेको दुई तिहाइको सरकार गाईजात्रे तमासाजस्तो । केही पनि सम्हालिएको र व्यवस्थित हुनसकेन । लथालिङ्ग देशको भताभुङ्ग चाला भनेकै यही संविधान हो । यस्तो संविधानलाई च्यापेर हिड्नु र सतीदेवीको शवलाई महादेवले बोकेर हिड्नु उस्तै हो । अब एउटा निकास त निस्कनै पर्छ, निकाल्नैपर्छ । देशलाई बचाउनका लागि निकास जरुरी छ । शान्तिपूर्ण निकास निकाल्नुपर्छ ।

यो निकास सबै राजनीतिक शक्तिहरुको गोलमेच सम्मेलन हुनसक्छ । देशलाई द्वन्द्वबाट बचाउने र थप अराजकता रोक्ने हो भने गोलमेच सम्मेलन गर्नु उचित हुने छ भनेर द्वन्द्वविदहरु सुझाव दिन थालेका छन् । कहिल्यै सूर्य नअस्ताउने बेलायतको जगजगीको समय । दक्षिणको भारतमा अंग्रेज सरकार थियो । भारतमा राजनीतिक मुद्दाहरु उठिरहेका थिए, स्वतन्त्रता सेनानीहरु जगमगाउन थालेका थिए । अंग्रेजविरुद्धका बिद्रोहहरु उठ्न थालेपछि गोलमेच सम्मेलन भयो ।

यो समया थियो– १९३०–३२ को । यही समयमा बृटिशले भारतमा गोलमेच सम्मेलन गराएको थियो । यो गोलमेच सम्मेलनमा हिन्दु, मध्यपन्थी, न्यायमार्गी, दलित बर्ग, शिख समुदाय, हिन्दु, ईसाईहरु, भारतमा बसोबास गर्ने नगर्ने युरोपियनहरु, एङ्लो इण्डियन, महिला, श्रमिक, विश्वविद्यालयका प्रतिनिधिहरु, सिन्ध, सबै प्रान्तीय प्रतिनिधिहरु, अंग्रेज सरकार, दक्षिण भारतीयहरु, बुद्धिजीवीहरु, पूर्वप्रशासकहरु आदिलाई सम्मिलित गरेर गोलमेच सम्मेलन भएको थियो । अंग्रेज सरकारले बिद्रोहलाई रोक्न र भारतमा के कसरी अघि बढ्न सकिन्छ भन्ने नै यो गोलमेच सम्मेलनको उद्देश्य थियो । जब जब राजनीतिक मुद्दाहरु बढ्छन्, समाधानका उपाय खोज्न गोलमेच सम्मेलन गर्ने गरिन्छ । यस्तो सम्मेलन विश्वका अन्य मुुलुकहरुमा पनि हुने गरेका छन् । छाती ठूलो पारेर एकपल्ट प्रयास किन नगर्ने ?

footer