kumari
stcnepal

देशविरोधी जो कसैलाई थचार्छ सेनाले

राजन कार्की
२०६५ साल भदौ २ गते जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री बने । डेपुटी कमाण्डरहरू नन्दकिशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनालले भने– नेपाली सेनाको माओवादीकरण यो सरकारको पहिलो प्राथमिकता हो । नेपाली सेना बिघटन गरी माओवादी सेनासहितको नयाँ सेना बनाउनुपर्छ । (कान्तिपुर–२०६५ असोज १९) । वर्षमान पुनले ठूलै स्वरमा गर्जिएका थिए– रक्षा मन्त्रालय हामीसँगै राख्छौं, धेरैभन्दा धेरै माओवादी लडाकु सेनामा एकीकृत गर्नुछ । कांग्रेस सरकारमा जाने कुरा थियो– प्रचण्डले रक्षा मन्त्रालय हामीलाई नै चाहिन्छ भनेर अड्डी लिएपछि कांग्रेसले भन्यो– माओवादी घूसपैठले नेपाली सेना ध्वस्त पारिदैछ । (साउन २७ का हिमालय टाइम्स र अन्य पत्रपत्रिका)
प्रचण्ड सरकारले ६ जना जर्नेललाई अवकाश दियो र प्रधानसेनापति रुकमांगद कटवाललाई स्पष्टिकरण सोधेर हटाउने सहमति दिएर एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा निस्किए । (२०६५ चैत १३ का पत्रिकाहरु)
अचम्म त के भयो भने ६ जर्नेलको अवकाशलाई अदालतले गलत ठहर गरिदियो । दिल्लीको फोन बेइजिङमा रहेका झलनाथ खनाललाई गयो र खोसिएका भनिएका कटवालले वालुवाटारदेखि जंगीअड्डासम्म सेनालाई अलर्ट पारिदिए ।
सेनाले चाहे कुनै पनि अतिवादका विरुद्ध हर्कतमा आउन सक्ने नजीर स्थापित हुनपुग्यो ।
२०६६ वैशाख २० गते प्रधानमन्त्री क्वार्टरमै बोलाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाइएको चिठी मुख्यसचिव लीलामणि पोखरेलले दिएका थिए । एमालेका अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, गृहमन्त्री बामदेव गौतम र स्वयम् प्रधानमन्त्री प्रचण्डले त्यतिबेला तोरीको फूल देखे जतिबेला राष्ट्रपति डा.रामवरण यादवले आफैले सही गरेको पत्रमार्फत रुक्मांगद कटवाललाई प्रधानसेनापति पदमा निरन्तर बहाल रहन आदेश दिए । कांग्रेसका सभापति कोइरालाले राष्ट्रपतिको कदमको सह्राहना गरे ।
माओवादीका नेता डा.बाबुराम भट्टराई, अनन्त, बलदेवहरूले राष्ट्रपतिको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने बताएपछि राष्ट्रपतिको बोल्ड भनाइ सार्वजनिक भयो– प्रधानमन्त्रीजस्तै म पनि निर्वाचित हुँ । सिंहदरवारमा बत्ती निभे पनि राष्ट्रपति कार्यालयमा बत्ती निभ्दैन । म आलङ्ककारिक होइन, संवैधानिक राष्ट्रपति हुँ । (२०६६ वैशाख १६ का पत्रपत्रिकाहरू)
फेस सेभिङ्ग गर्दै माओवादीबाट पानी पानी भएको अभिव्यक्ति आउन थाल्यो– भारत र अमेरिकाको ठूलै दबाब आयो भनेर प्रचण्डले राजीनामा दिए । सडक आन्दोलन फासफुस हुनपुग्यो ।
अर्थात्, देश र जनताका लागि संगठित नेपाली सेनाको जरो बलियो छ । नेपाली सेनाको व्यवसायिक ताकत व्यापक छ । नेपाली सेना यस्तो संगठन हो, जसलाई १० वर्ष जनयुद्ध गरेको शक्तिले पनि हल्लाउन सकेन ।
विश्वशान्तिका लागि अलग्गै पहिचान बनाइसकेको नेपाली सेना त्यो सेना हो, जसले नोबेल पुरस्कार ग्रहण गर्दा राष्ट्रसंघका महासचिव कोफी अन्नानले नेपाली सेनालाई साथमै राखेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका मार्शल किम जोङ् उनसँग दुईपल्ट शिखर वार्ता गर्दा सुरक्षा गर्ने गोर्खा सेना थियो ।
गोर्खालीको रगतमै इमान छ । उत्तरदायित्व र जवाफदेही पनि छ । नेपाली सेना भनेकै गोर्खा सेनाको विकसित स्वरुप हो । जर्नेल प्रेम सिंह बस्नेतका अनुसार बि.सं. १६१६ मा भगीरथ पन्तलाई सेनापति (काजी) बनाएर नेपाली सेनाको स्थापना भएको हो ।
नेपाली सेना यसकारण नेपाल र नेपालीको सुरक्षा कवच थियो, छ र बनिरहनेछ ।
२०६३ सालपछि भाँडिएको राजनीतिले अराजकता देखाउन थालेको छ । राजा र हिन्दुराष्ट्र किनारा लगाएपछि थिति बिग्रिएको छ । बिगार्नेहरू आफै बिग्रिए, सुधार्ने प्रयास कसैबाट पनि सम्भव देखिएन ।
यसकारण त्यो संगठित शक्ति र राजतन्त्रवादले दायित्ववोध सम्झनै पर्ने अवस्था आएको छ । नेपाली सेनाका प्रधानसेनापतिले जेठ २३ गते राजनीतिक अराजकताबारे सेना अवगत छ भन्नु पनि राजनीतिलाई सुध्रने चेतावनी हो । राजतन्त्रवादले पनि देशको खस्किदो हालका विषयमा चिन्ता र चासो लिएको अनुभूति सबैले गरेकै छन् ।
जनताले खोजे म यहीँ छु भनेका हुन् जनआस्थाका राजाले । देशको भार लाग्ला भनेर सबैलाई बेला बेलामा सचेत गराएका पनि हुन् आस्थाका राजाले । त्यो जनआस्थाका राजा यतिबेला कहाँ छन् ? के गर्दैछन् ? जनता अक्सिजन नपाएर मरिरहेको बेलामा, अस्पतालको बेड र उपचार नपाएर अकालमा ज्यान फाल्न बाध्य भइरहेका बेलामा आस्थाका राजा देखिनुपर्छ कि पर्दैन ?
नेपाली सेनाले सीमामा रहेर जनसेवा गरिरहेको छ । अक्सिजनको जोहो, अक्सिजन पु¥याउने प्रवन्ध, उद्धारकार्यमा पनि सेना जुटेको छ । देशको अन्तिम शक्तिले यतिमात्र गरेर पुग्दैन । किनकि कोभिड महामारी र राजनीतिक झगडाले देश र जनता, पद्धति र नीति कोमामा गइसक्यो । यतिबेला आस्थाको सेना अगाडि आउनैपर्छ ।
नेपाली सेना भनेको अनुशासन हो । जिम्मेवारी हो । कर्तव्यको पालना हो । नेपाली सेना राजनीति होइन, गुट अथवा विवाद पनि होइन । नेपाली सेना देश र जनताको अपेक्षाको समाधान हो । यसकारण नेपाली आस्था हो सेना ।
सबैले देखेका छन् राजनीति असफल भयो । संविधानले समाधान दिन सकेन । संविधान सत्ता विवादको माखेसाङ्ग्लो बनेर आफै नोज डाइभ गरिरहेको छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सन्निपात लागेर पक्षाघातको अवस्थाम ापुगिसक्यो । अब अन्तिम उपचार भनेको कोरामिन हो ।
कोरामिनको अर्को नाम जनआस्थाको शिखरमा रहेको नेपाली सेना र राजसंस्था हो । यस्तै बेलामा कोरामिन हाल्नुपर्ने हो राजनीतिक नेताहरुलाई । यिनीहरुले देश र जनताको रगत यति धेरै चुसे कि यिनीहरु यतिबेला जिम्मेवारी, जवाफदेही पन्छाएर बान्ता गरिरहेका छन् । यिनीहरुले कोभिडको महामारी, भ्रष्टाचारको महाविपत, अनुशासनहीनताको पराकाष्ठामा आफूलाई होमेर जनता मारिरहेका छन् । देश र जनता बचाउने यिनमा न अक्किल छ, न हिम्मत ? अब जनताप्रतिको जिम्मेवारी बहन गर्ने दायित्व नेपाली सेना र आस्थाका राजाको काँधमा आइसकेको छ ।
देश र जनता बचाउनु प¥यो, अन्यथा नेपाल र नेपाली जोखिमबाट अस्तित्वकोसंकटमा पर्नेछन् । नेपालक यी अजय आस्था छ अझै । यसकारण मरिरहेका जनता चिच्याइरहेका छन्– बचाउ । बचाउ । बहादुर बाँच्ने कर्मले हो । राजा र नेपाली सेनाले नेपाल निर्माण गरेका हुन् । त्यो आर्जित बहादुरी आज कोभिड र भ्रष्टाचारका भाइरसहरुले सखाप पारिरहेका छन् । बचाउने दायित्व पुनः इतिहासले एकपल्ट फेरि राजतन्त्रवाद र सेनाको काँधमा हालिदिएको छ ।
समय आयो, सेना र राजतन्त्रवादले मौनता चिर्नुप¥यो, जनताका साथमा देखिनुप¥यो । अन्यथा पहिरो लस्कदैछ, रोक्न नसकिए केही बाँकी नरहन सक्छ ।

footer