kumari
stcnepal

एमालेका नेताहरुका आखाँ खुलेकै हुन् त ?

 

काठमाडौ । सत्ताधारी दल नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वले गर्दा संघीय सरकार र नेकपा एमालेको नेतृत्वमा रहेका प्रदेश सरकारहरु पनि संकटमा पर्दै गएका छन् । नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले उठाउन थालेपछि नेकपा एमालेका नेताहरु जसरी भएपनि पार्टीमा एकता कायम गराउन लागि परेका छन् । नेकपा एमालेका निलम्बित नेता माधव कुमार नेपाल समूहले कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव पक्षसँग गठबन्धन गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागि परेको बेला नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ्गको नेतृत्वमा रहेको गण्डकी प्रदेशको सरकार ढलेको छ ।
कर्णाली प्रदेशमा नेकपा एमालेको एक्लै बहुमत रहेपनि त्यहाँ माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीको नेतृत्वमा सरकार रहेको छ । माधव नेपाल समूहले शाही नेतृत्वको सरकारलाई समर्थन गरेका हुनाले शाही नेतृत्वको सरकारले हालै विश्वासको मत समेत लिएको छ भने सुदुरपश्चिम प्रदेशमा समेत माओवादी केन्द्रकै नेता त्रिलोचन भट्टको सरकारलाई माधव समूहले समर्थन गरेको छ भने माधव समूह भट्ट सरकारमा समेत सहभागि भएको छ ।
नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले उठाउन थालेपछि नेकपा एमालेका केही नेताहरु पार्टी एकता मिलाउन लागि परेका छन् । त्यसैको परिणाम हो प्रदेश नं. १, बागमति प्रदेश र लुम्बिनी प्रदेशमा सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित हुनु । यी तिनै प्रदेशमा माधव नेपाल समूहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गरेपछि अब बजेट समेत सहज रुपमा पारित हुन सक्ने सम्भावना बढेर गएको छ ।
माधव नेपाल समूहले कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव पक्षसँग गठबन्धन गरेर सरकारको विरोध गरिरहेको र केन्द्रदेखि प्रदेश सभा हुँदै जिल्ला र गाउँ तहसम्म गठबन्धन गर्ने रणनीति अघि सारेपछि प्रधानमन्त्री केपी ओली समूह दबावमा परेको थियो । केही समय पहिला भएको राष्ट्रियसभाको निर्वाचनमा माधव समूहले नेकपा एमालेका उम्मेदवारलाई मत नदिएर विपक्षी गठबन्धनले उठाएका उम्मेदवारलाई मतदान गरेपछि सत्ताधारी दलका उम्मेदवार पराजित भएका थिए ।
पछिल्लो समयमा माधव समूह केही नरम भएको जस्तो देखिएको छ । बाग्मति प्रदेशमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई माधव समूहले समर्थन नगरेको भए सरकारको नीति तथा कार्यक्रम असफल हुने पक्कापक्की थियो । त्यसैगरी प्रदेश नं. १ मा पनि त्यस्तै अवस्था रहेकोमा माधव समूहले समर्थन गरेपछि तिनै प्रदेशमा सरकारका नीति तथा कार्यक्रमहरु पारित भएका छन् ।
बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभाका सांसदलाई सोधेको स्पष्टीकरण फिर्ता लिएपछि माधव समूह सरकारलाई सहयोग गर्न सहमत भएको हो । यसरी आपसी द्वन्द्वले गर्दा नेकपा एमालेले आफ्नो नेतृत्वमा रहेको संघीय सरकार र प्रदेश सरकारहरु जोगाउन अहिले पहल थालेको जस्तो देखिएपनि त्यसले ठोस रुप लिन सकेको छैन । नेकपा एमालेभित्रको द्वन्द्वको फाइदा कांग्रेस र माओवादी केन्द्रले उठाउन थालेपछि एमालेका नेताहरुका आँखा खुलेकै हुन् त भन्ने प्रश्न समेत उठेको छ ।

footer