kumari
stcnepal

पतनको बाटोमा यदुवंशी झैँ नेपालका कम्युनिष्टहरु

 

देवेन्द्र चुडाल

सत्ता विस्थापित भई संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमाले अहिले संकटपूर्ण अवस्थामा पुगेको छ । यदुवंशी झैँ नेपालका कम्युनिष्ट पार्टीहरु पतनको बाटोमा अग्रसर भएका छन् । विनासको प्रतिस्पर्धामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ । जनताले पत्याएको पार्टी नेकपा एमाले अरु कुनै कारणबाट पतनको बाटोमा गएको होइन सत्ता संघर्ष र व्यक्तिगत स्वार्थका कारण नेकपा एमाले पतनको मार्गतर्फ उन्मुख भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली र पार्टीका नेता माधव नेपालबीचको विवाद नै नेकपा एमाले पतनको बाटोमा लागेको छ । धेरै जनताले पत्याएको जुझारु र तेजिला कार्यकर्ता भएको केन्द्रदेखि गाउँसम्म बलियो संगठन भएको नेकपा एमालेको छवि रहेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र २०७५ साल जेष्ठ ३ गते एकीकरण भएपछि नेकपा अझ शक्तिशाली बनेको थियो । चुनावी एकता हुँदै चुनावमा गएपछि मुलुकमा कम्युनिष्टहरुको दबाब रहेको थियो । त्यही दबदबामा चेपिएर कांग्रेस कमजोर प्रतिस्पर्धीका रुपमा एउटा कुनामा चेपिएर बस्न बाध्य भएको थियो । तर शक्तिको उन्मादले नेकपालाई छिन्नभिन्न अवस्थामा पु¥याएको छ भने एउटा कुनामा बसेर कम्युनिष्टहरुको ताण्डव हेरिरहेको कांग्रेस अहिले सत्ताको नेतृत्वमा पुगेको छ । त्यो पनि कम्युनिष्टहरुकै सहारामा । कांग्रेसलाई तिनै कम्युनिष्टहरुले चादिको किस्तीमा सजाएर सत्ता सुम्पिएका छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् भने उनले संसदबाट गत आइतबार श्रावण ३ गते विश्वासको मत समेत लिईसकेका छन् । उनलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेकै माधव समूह र पार्टी अध्यक्ष केपी ओली समूह गरी २२ जनाले विश्वासको मत दिएका हुनाले उनले १ सय ६५ मत प्राप्त गरेका छन् । संसदबाट विश्वासको मत लिईसकेको हुनाले अब निर्वाचन नभएसम्म देउवाले सरकारको नेतृत्व गर्ने भएका छन् । सत्ता पाएर कांग्रेस उत्साहित भएको छ । उनलाई विश्वासको मत दिने माओवादी केन्द्र जसपाको उपेन्द्र यादव पक्ष र माधव समूह प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन सफल भएको भन्दै उत्साहित भएपनि आम रुपमा देउवाप्रति आकर्षक र उत्साह देखिएको छैन, देउवाको विगतलाई हेर्दा उनी साख गुमेका नेता हुन् ।

आफ्नै पार्टीको नेतृत्वको कुरा होस् वा यस भन्दा अगाडिका प्रधानमन्त्रीय कार्यकालहरुलाई हेर्दा उनी खरो रुपमा उत्रिन सक्ने अवस्था देखिएको छैन । त्यही कारणले गर्दा उनका लागि यो अर्को महत्वपूर्ण परीक्षा हो । फेरी उनलाई कम्युनिष्टहरुले आफूलाई प्रमाणित गर्ने अवसर जुटाईदिएका छन् । कम्युनिष्टहरुकै बलमा देउवा प्रधानमन्त्री बन्न सफल भएका हुनाले उनीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको व्यापक दबाब पर्न सक्छ । केही दिन पहिला दाहालले प्रधानमन्त्री देउवालाई दबाबमा राख्न संविधान, ऐन, कानुनले नचिनेको राज्य सञ्चालनका लागि उच्चस्तरीय संरचना बनाउनुपर्ने प्रस्ताव राखि सकेका छन् । संविधान ऐन, कानुनले त्यो उच्च स्तरीय संरचनाको परिकल्पना गरेको छैन ।

कार्यकारी प्रधानमन्त्रीलाई दबाब दिन र आफ्नो पकडमा राख्ने उदेश्यले नै त्यस्तो संरचनाको प्रस्ताव दाहालले राखेका हुन् । संविधान अनुसार अब देउवाले नै अर्को निर्वाचन गराउन पाउने भएपछि उनले कसैको दबावमा नपरी निष्पक्ष भएर सरकारको काम कारबाही अघि बढाउनुपर्दछ । अहिले देउवालाई दिएको समर्थन कुनै दल वा पक्षले फिर्ता लिएको खण्डमा देउवाले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने सम्वैधानिक व्यवस्था भएपनि उनले संसदबाट विश्वासको मत लिन नसकेपनि उनैको नेतृत्वको सरकारले संसद विघटन गरेर ६ महिनाभित्रमा प्रतिनिधिसभाको निर्वाचन गराउन पाउने भएकाले प्रधानमन्त्री देउवाले कसैको दबाब र प्रभावलाई स्वीकार गर्नुपर्ने आवश्यकता देखिदैन, रहँदैन ।
नेपालका कम्युनिष्टहरु अरु कसैको कारणले नभएर उनीहरु आफ्नै कारणले पतनको डिलमा पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी रहेकै अवस्थामा पार्टी भित्रको अन्तरविरोध चुलिएको थियो । पार्टीका दुई अध्यक्ष मध्येका पुष्पकमल दाहालले पार्टीको पहिलो नम्वरका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि गत कार्तिक २८ गते १९ बुँदे संगीन आरोप लगाउँदै नेकपाको सचिवालयमा आरोपपत्र दर्ता गरेपछि नेकपा भित्रको द्वन्द्व सडकमै छताछुल्ल भएको थियो । पुष्पकमल दाहालले केपी ओली र माधव नेपाल बीचको सम्बन्ध राम्रो नभएको सूइको पाएका हुनाले त्यसको फाइदा उठाउने क्रममा दाहाल अघि बढेका थिए । ठीक त्यही बेला माधव नेपालले समेत ओलीलाई ठीक ठाउँमा ल्याउने बेला यही हो भनेर दाहालले लगाएको संगीन आरोपहरु दाहालको मात्र नभएर हाम्रो पनि हो भनेपछि ओली आक्रोशित हुँदै आएका थिए । स्मरण रहोस् नेकपा एमालेको नवौं महाधिवेशनमा केपी ओलीसँग माधव नेपाल अध्यक्षको पदमा पराजित भएका थिए । त्यसबेला देखि नै माधव नेपालले ओलीलाई अध्यक्ष स्वीकार गर्न नसकिरहेको हुनाले त्यसको फाइदा दाहालले उठाईरहेको बेला सर्बोच्च अदालतले २०७७ साल फागुन २३ गते नेकपाको दर्ता नै खारेज गरिदियो ।

सत्ताधारी दल नेकपाको दर्ता नै खारेज हुनुभन्दा अगाडि नै केपी ओली नेतृत्वको सरकारले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा समेत भएको थियो । तर सर्बोच्च अदालतले प्रतिनिधिसभाको विघटनलाई बदर गरिदिएपछि प्रतिनिधिसभा पुर्नस्थापना भएको थियो । प्रतिनिधिसभा विघटन पश्चात् माओवादी केन्द्र र माधव नेपाल समूह सडक आन्दोलनमा गएका र सडक बाटै पार्टी अध्यक्ष ओलीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेका र खाली रहेको अध्यक्षमा दाहालले माधव नेपाललाई मनोनय गरेका थिए । यी सबै कारणहरुले गर्दा माधव नेपाल र केपी ओली अहिलेकै अवस्थामा नेकपा एमालेमा बस्न सक्ने अवस्था देखिँदैन । जब दोस्रो पटक गत जेष्ठ ८ गते पुर्न संसद विघटन भयो त्यसबेला दाहाल समेत माधव नेपाल नेपाली कांग्रेसको शरणमा पुगे । कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वाचन नै चाहेका थिए । तर दाहाल सहित नेपाल र जसपाको उपेन्द्र यादव पक्षले उनलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएपछि मात्र देउवा संसद विघटनको विपक्षमा उभिएका थिए । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउने क्रममा माधव नेपाल समूहको ठुलो हात रहेको छ ।

माधव समूहले पार्टी अध्यक्ष ओलीसँग राखेका मागहरु क्रमस पूरा हँुदै गएपनि माधव नेपालले एकपछि अर्को माग राख्दै गएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको २०७७ जेष्ठ ३ गते भन्दा अघिकै अवस्थामा पार्टी फर्किनुपर्ने मागमा ओली सहमत भए तर त्यही हुँदा पनि माधव नेपाल पार्टीको बैठकमा उपस्थित भएनन् । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सहमति गर्ने र आफैँ पार्टीका अध्यक्षले वैशाख २७ गते संसदमा विश्वासको मत लिने दिन संसदमा अनुपस्थित रहेर माधव समूहले आफैँलाई मत दिने जनतालाई अपमान गरेका छन् ।

दलीय व्यवस्थामा व्यक्ति भन्दा दल ठुलो हो । निर्वाचनमा पार्टीले टिकट दिने निर्वाचन चिन्ह पार्टीको हुने झण्डा पार्टीको हुने र घोषणापत्र समेत पार्टीकै हुने हुनाले जनताले व्यक्तिलाई होइन पार्टीलाई मत दिएका हुन् । आफ्नै पार्टीको विरुद्धमा गएर विपक्षीको शरणमा पुग्नु भनेको आफ्नो घरमा आगो लगाएर छिमेकीको घरमा शरणमा जानु बाहेक अन्य केही हुन सक्दैन । व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टीलाई हतियारका रुपमा प्रयोग गर्नु अर्को जघन्य अपराध हो ।
ओली सरकारले केही गल्ती गरेको छ । तर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले सरकारले गरेका गल्तीलाई गल्ती भन्न सकेनन् । सत्ताको वरिपरि बसेर व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ नेता तथा कार्यकर्ताहरु लागि परे । सरकारले गरेका राम्रा कामहरुको प्रचार प्रसारमा ओली सरकार र नेकपा एमालेले कुनै ध्यान दिएको देखिएन । प्रधानमन्त्रीको वरिपरि बस्ने विपक्षीहरुलाई गाली गर्ने क्रममै सार्वजनिक छवि बनाएका नेताहरु लागि परे । समाजले आशा गरेका नेताहरुले समेत बाटो विराएर आफ्नो स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भएका हुनाले ओली सरकारको तीव्र आलोचना हुँदैै गएको थियो ।

ओली सरकारका मन्त्रीहरुले झुटो आश्वासनहरु समेत सार्वजनिक रुपमै बाड्न थालेका कुनै योजना र कार्यक्रम नै प्रयोगमा नल्याई झुठा आश्वासन समेत बाँडिएका हुनाले सञ्चार जगत् समेत ओली सरकारको विपक्षमा उभिन बाध्य भयो । सञ्चार जगत्लाई विपक्षमा उभित्रन बाध्य पार्ने व्यक्तिहरुको बोलवाल रहेको हुनाले उनीहरुप्रति जनताको र सञ्चारकर्मीहरु समेत ओली सरकारको विपक्षमा उभिन पुगे । ओली सरकारले गरेका केही राम्रा कामहरु छायाँमा पारिएका छन् । सरकारले गरेका कामको प्रचार प्रसार गरी जनताकहाँ पु¥याउने काम पार्टीका नेता र कार्यकर्ताहरुको भएपनि नेता र कार्यकर्ताहरु नै विभाजित हुने अवस्थामा रहेका हुनाले उनीहरु एक अर्काका विरुद्ध उत्रिन पुगे । पछिल्लो समयमा नेकपा एमाले भित्रको विवाद सडकमै पोखिएको छ ।

विवादलाई मिलाउन ओली र माधव नेपाल दुवै पक्षको सहमतिमा गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन ओली माधव नेपाललाई बुझाईसकेको भएपनि माधव नेपालले त्यसलाई अस्वीकार गरिसकेका हुनाले उनको भित्री इच्छा पनि नेकपा एमालेमा नफर्किने नै रहेको प्रष्ट हुँदै गएको छ । पार्टी अध्यक्ष ओलीले पार्टीको स्थायी समिति र केन्द्रीय समितिबाटै निर्णय गराएर पार्टीलाई २०७५ जेष्ठ ३ गते भन्दा अगाडिकै अवस्थामा पु¥याएको निर्णय गराएका छन् तर माधव नेपाल त्यसलाई स्वीकार गर्न तयार छैनन् ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुनुभन्दा अगाडि नेकपा एमालेको नवौं बैठक बसेको थियो । त्यसभन्दा पछि बसेका बैठकहरुलाई अमान्य भन्दै एमालेको अहिले १० औँ बैठक बसेको छ । यो मागपनि माधव नेपालकै हो माग अनुसार नै नेकपा एमालेको बैठक बसेपनि माधव समूह बैठकमा सहभागि भएको छैन । फेरी माधव समूहले अर्को माग अघि सारेको छ । नेकपा एमाले एकीकृत हुने हो भने पार्टी अध्यक्षबाटै अध्यक्ष ओलीले विदा लिनुपर्दछ भनेर के त्यो सम्भावना होला त ? पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका अध्यक्षले आफैँसँग पराजित भएका व्यक्तिलाई उनीहरुले शेर बहादुर देउवालाई चाँदीको किस्तीमा राखेर सत्ता सुम्पिएर पछि अध्यक्ष पद माधव नेपाललाई सुम्पिन तयार होला त ? भन्ने प्रश्न समेत उब्जिएको छ ।

एमालेले जे जस्तो निर्णय गरेपनि माधव नेपाल एमालेमा फर्किन सक्ने सम्भावना देखिएको छैन । उनी पुष्पकमल दाहालको चंगुलमा फसिसकेका छन् । त्यही कारणले गर्दा उनले एकमाथि अर्को माग थपिरहेका छन् । यतिसम्म विवाद हुँदा पनि नेकपा एमालेका युवा पुस्ता हौँ भन्ने दोस्रो तहका नेताहरु आ आफ्नो पक्षमा बाँडिएर आफ्नो राजनीतिक भविष्य अन्धकारमा पार्दै अघि बढेको हुनाले यदुवंशी झैँ नेपालका कम्युनिष्टहरु पतनको बाटोमा उन्मुख भएका छन् । त्यसको फाइदा नेपाली कांग्रेसले नै उठाउन सक्छ, अहिले त्यही फाइदा उठाएर सत्ताको नेतृत्व पाएको छ । कठै बरा नेपालका कम्युनिष्टहरु !

footer