kumari
stcnepal

विश्वकप छनोट एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित

आसन्न टि–२० र एकदिवसीय महिला विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबारबाट थाइल्यान्डमा सुरु भएको विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

थाइल्यान्डस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेल टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले मलेसियालाई १२७ रनको लक्ष्य दिएको थियो । १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७ रन मात्र बनाउन सक्यो र ३४ नरले पराजित भयो ।

मलेसियाका लागि क्रिस्टिना बारेटले सर्वाधिक २१ रन बनाइन भने कप्तान विनिफ्रेड दुराइसिंगमले १८ तथा साशा अज्मीले १६ रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । नेपालका करुणा भण्डारी र सरिता मगरले समान २ विकेट लिए भने सिता रानामगर र कविता कुँवरले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनायो । नेपालका लागि सरिता रानामगरले सर्वाधिक ४२ रन बनाइन् भने कप्तान रुविना क्षेत्रीले नटआउट ३३ रनको योगदान दिइन् ।

४० बल खेलेकी सरिताले २ चौका प्रहार गरिन् भने रुविनाले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले १६, इन्दू बर्माले १३ रन बनाइन भने नेरी थापा ६ रन बनाएर आउट भइन् । मलेसियाका लागि दुराइसिंगम, साशा अज्मी र जुमिका अज्मीले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ । खेल बिहान ८ः४५ बजे सुरु हुने छ ।

footer