kumari
stcnepal

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा माडीमा शिक्षक पक्राउ

चितवन। चितवनको माडीमा एक छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो । घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरी पछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।

फागुन २९ गतेको यो घटना विद्यालय भर फैलिए पछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो । माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक-पटक उही क्रियाकलाप दोहोर्‍याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्र समेत लेखेका छन् ।

बाल यौन दुर्व्यवहारमा कसुर ठहर भए तीन वर्ष सम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनले गरेको छ ।

 

 

 

footer