kumari
stcnepal

वृद्धा हत्याको आरोपमा छोरा पक्राउ

पोखरा । पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने । ३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटना पछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

‘टोलछिमेकमा हेर्दा पनि कसैले पनि हत्या उनकै छोरा ओमले गरेको भन्ने शंकै थिएन । राम्रो सँग केयर गर्दै आइरहेको भन्ने बुझिएको थियो,’ डीएसपी तिवारीले भने, ‘अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरुले घटाएको स्वीकारि सकेका छन् ।’ उनीहरु माथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालत बाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

 

 

 

footer