kumari
stcnepal

इटहरीमा बम विष्फोट हुँदा दुई घाईते

विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । उनका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनगर आँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थल बाट कङग्रुएन्ट फ्रन्ट अफ नेपाल (कफन)को पर्चा बरामद भएको प्रहरीले बताएको छ । कफनले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गते बाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।विष्फोटमा घाइते भएकाहरू कफनका कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिन अघि पाहुना आएका थिए । विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।

संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राख्दै कफनले संघर्ष घोषणा गरेको थियो । सोही कफनले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो । गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक- ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

 

 

 

 

footer