kumari
stcnepal

सर्लाहीमा सेप्टिक ट्यांकी भित्र हराइरहेका बालकको शव फेला

जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकी भित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकी भित्र फेला परेको हो ।

बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकी भित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए । बालकको हत्या गरी शव बोरा भित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेर सम्म घर नफर्किए पछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।

प्रहरीले बालकका छिमेकी जगदीश ठाकुर सहित ७ जनालाई नियन्त्रणमा लिएको बूढाथोकीले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer