गोरखा । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखा बाट तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।
फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेका जस्तो भान पार्ने र फकाई फुलाई महिलाहरु सँग रहेको सुनका गरगहना तथा नगद ठगी गरेको प्रहरीको दाबी छ ।
गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्क बाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । ‘शंकास्पद अवस्थामा उनीहरुलाइ फेला पार्यौ,’ उनले भने, ‘नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथ बाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातुको पत्ता फेला पार्यौ ।’ पक्राउ परेका उनीहरु विरुद्ध ठगी कसुर शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।