kumari
stcnepal

ठगी अभियोगमा पाँच पक्राउ

काठमाडौं ।भ्रमण भिसामा नेपाल बाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।

उनीहरुले दुबई स्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको गिरोहले आम्र्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक रु तीन हजार दिराम सम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि आठ लाख सम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।

गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थान बाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबई स्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । हाल सम्म ७६ पीडितहरु बाट रु दुई करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अदालत बाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

 

footer