kumari
stcnepal

केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी

काठमाडौं ।केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । नैरोबी स्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो ।

यस जित सँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए । १३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन । नियमित ओपनर कुशल भुर्तेललाई ड्रप गरेपछि नेपालले आसिफ शेख सँगै पवन सर्राफलाई ओपनिङ गराएको थियो । दुई वर्ष भन्दा बढी समयपछि टी२० अन्तर्राष्ट्रिय खेल्दै ओपनिङ गरेका पवन व्यक्तिगत १ रनमै आउट भए ।

यस्तै ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९-१९ रन जोडे । उपकप्तान रोहित पौडेलले १५ रन बनाए । आरिफ शेखले अविजित २१ रन बनाए । आदिल आलम २ रन अविजित रहे । केन्याका लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।

footer