kumari
stcnepal

अख्तियारका पूर्वआयुक्त पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु

काठमाडौं ।विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ ।

अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इञ्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो मागदावी गरी मुद्दा दायर गरेको थियो । आयुक्त पाठकमाथि अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भनी पदीय आचरण विपरीत काम गरेको आरोप छ ।

आरोपपत्रमा अख्तियारले पाठक माथि ११ वर्ष कैद सजाय हुनुपर्ने माग दावी गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाख देखि एक करोड रुपैयाँ घुस लिने/दिने व्यक्तिलाई ६ देखि ८ वर्ष सम्म कैद सजाय हुनेछ । विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सो व्यवस्था अनुसार पाठक माथि ११ वर्षसम्म हुने भनी अख्तियारको मागदावी थियो । लम्बोदर सँग रकम लिएर पाठकलाई घुस बुझाएका इञ्जिनियर ज्ञानेन्द्र झालाई अख्तियारले अनुसन्धानमा सहयोग गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि अख्तियारले मुद्दा चलाएको छैन ।

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विभिन्न अनियमिततामा मुछिएका थिए । कलेजको फाइल अख्तियारमा अनुसन्धान हुँदै थियो । त्यसक्रममा न्यौपानेले आफूलाई जोगाइदिन अनुरोध गर्दै पाठकलाई एक पटक ४० र अर्को पटक ३८ गरी ७८ लाख रुपैयाँ घुस बुझाएका थिए ।

footer