kumari
stcnepal

स्वीजरल्याण्डलाई हराउदै पोर्चुगल क्वाटरफाईनलमा

काठमाडौं ।युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए ।

रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेवारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३-० बनाए ।

५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४-० पुर्‍याए ।५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए ।

इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६-१ को जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

footer