kumari
stcnepal

यु २० महिला साफको उपाधिमा नेपाल चुक्यो

काठमाडौं ।साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । बिहीबार ढाका स्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेश सँग ३-० ले पराजित भएको हो । नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस स्स्करणमा नेपाल बंगलादेश सँग दुई पटक पराजित भयो । चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । आज बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्‍यो । ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान साम्सुन्नाहारले गोल गर्दै अग्रता दोब्बर पारिन् । दुवै गोलमा नेपालको डिफेन्सको गल्ती थियो । पहिलो गोलमा नेपाली डिफेन्सले क्लियर गर्न नसकेको बलमा रिपाले पेनाल्टी बक्सको एजबाट प्रहार गर्दै गोल गरिन् । काउन्टर अट्याकमा प्राप्त बलमा नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा साम्सुन्नाहारले अगाडि बढाउँदै पेनाल्टी बक्स भित्रबाट गोल गरिन् ।

दोस्रो हाफमा नेपालले सुरुमै गोल गर्ने अवसर गुमायो । ५०औं मिनेटमा अमिसा कार्कीको क्रसमा सुनकला राईले पेनाल्टी बक्स भित्रबाट गोल गर्न सकिनन् । ७९औं मिनेटमा पनि नेपालले गोल गर्ने अवसर पाएको थियो । तर अमिसा कार्कीको प्रहार बंगलादेशी किपर रुपना चक्माले बचाइन् । ८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् । रिपाको फ्रिकिकमा उनोती खातुनले पोष्ट नजिकैबाट गोल गरिन् । राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतमाथि ३-१ को पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको नेपालले बंगलादेश विरुद्ध लय कायम राख्न सकेन । फाइनलमा नेपालले पनि गोल गर्ने तीन राम्रा अवसर गुमाएको थियो । घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बनेको हो । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

 

footer